कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पा चुनावी मैदानमा

३ महिनाs अगाडि

डायस्पोरा नेपाल

संखुवासभा । कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पालाई रास्वपाले संखुवासभाको उम्मेदवार बनाएको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरी इतिहास रचेका कीर्तिमानी पर्वतारोही शेर्पा उम्मेदवार भएका हुन् ।

रास्वपाबाट टिकट पाएका उनले मंगलबार मनोनयनपत्र दर्ता गरेका छन् । उनी संखुवासभाको मकालु गाउँपालिका–१, वालुङका स्थायी बासिन्दा हुन् । मिङ्मा शेर्पा अन्तर्राष्ट्रिय रूपमा चर्चित आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्षसमेत हुन् ।

शेर्पाले आफ्ना भाइ छाङ दावा शेर्पासँगै विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्ने विश्वकै पहिलो दाजुभाइको रूपमा गिनिज वर्ल्ड रेकर्डसमेत कायम गरेका छन् ।
सन् २०११ मे २० मा उनले विश्वका सबै १४ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहण गरी यस्तो सफलता पाउने पहिलो नेपाली र पहिलो दक्षिण एसियालीको इतिहास रचे।
उनले सबै १४ वटा हिमाल पहिलो प्रयासमै सफल आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए।

मिङ्मा र उनका भाइ छाङ दावा शेर्पाले विश्वका १४ वटा अग्ला हिमाल आरोहण गर्ने विश्वकै पहिलो दाजुभाइका रूपमा गिनीज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका छन्। अक्टोबर २०२४ सम्ममा यो जोडीले विश्वका सातवटै महादेशका अग्ला शिखरहरू (सेभेन समिट्स) सफलतापूर्वक आरोहण गरी अर्को ऐतिहासिक सफलता हात पारेका छन्।

उनले कुनै पनि बाह्य प्रायोजक विना नै यी शिखरहरू आरोहण गरेका थिए। सुरुमा गाइडका रूपमा ९ वटा हिमाल चढेपछि उनी कामको सिलसिलामा जापान गएका थिए। तर, सन् २००९ मा नेपाल फर्किएपछि उनले बाँकी ५ वटा हिमालको सफल आरोहण गरे।

हिमालका चुनौतीहरूलाई जितेका शेर्पा अब आफ्नो गृहजिल्ला संखुवासभाको विकास र जनसेवाका लागि राजनीतिमा होमिएका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us