जनयुद्धको आधार इलाकाको विकासमा केन्द्रित हुने संयोजक प्रचण्डको प्रतिबद्धता

३ महिनाs अगाडि

डायस्पोरा नेपाल

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको विकासमा गति दिनु आफ्नो मुख्य लक्ष्य हुने बताउनुभएको छ । रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ मा आज आफ्नो उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले जनअपेक्षा पूरा गर्न आफू दृढतापूर्वक लागिपर्ने विश्वास दिलाउनुभयो ।

सहिद परिवारको आर्शीवाद लिएर उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएका संयोजक दाहालले आफूले सरकारको नेतृत्वमा रहँदा सहिद परिवारका समस्या समाधानमा केन्द्रित भएको र आगामी दिनमा सहिदका भावनालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि जनयुद्धको आधारइलाका रोल्पाबाट चुनाव लडेको स्मरण गर्दै संयोजक दाहालले अहिले पुनः आधारइलाकाको अर्को जिल्ला रुकुमपूर्वका जनतासँग साक्षात्कार गर्ने अवसर पाएकामा खुसी व्यक्त गर्नुभयो । “अबको समयमा रुकुम, रोल्पाकै जनतासँगको साक्षात्कारमा भ्रष्टाचार अन्त्य र सामाजिक न्यायसहित विकास निर्माणको काम गर्नेछु”, उहाँले भन्नुभयो ।

संयोजक दाहालले रुकुमपूर्वका सडक सञ्जालमा नजोडिएका गाउँलाई सडक सञ्जालमा जोड्ने प्रतिबद्धता जनाउनुभयो । “काँक्री–तकसेरा–हुकाम–मैकोट–शहरतारा हुँदै चीनको सीमाना छार्का जोड्ने सडकलाई कालोपत्रे गर्ने र  सिस्ने गाउँपालिकाको १ र २ वडालाई सडक सञ्जालमा जोडिने छ”, रुकुमेली जनतासँग प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “विद्युत् उत्पादन, जडिबुटी प्रशोधन र भण्डारण, कृषिमा आधुनिकीकरण गर्नेजस्ता योजनालाई प्राथमिकतका साथ अगाडि सार्नेछु ।”

रुकुम पूर्वलाई कान्छो जिल्लाका रूपमा स्थापित गराउन आफ्नो प्रमुख भूमिका रहेको उल्लेख गर्दै संयोजक दाहालले यहाँको विकासको जिम्मेवारी आफूले नै लिनुपर्छ भन्ने स्पष्ट दृष्टिकोणसहित रुकुम पूर्वमा निर्वाचन लड्न आएको बताउनुभयो ।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वजिल्ला अध्यक्ष टोपबहादुर ओलीसहित एक दर्जन नेताहरू नेकपामा प्रवेश गर्नुभएको छ । यसअघि निर्वाचनमा प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका नरहरि खड्का, एमालेका जिल्ला उपसचिव केशकुमारी तुलाचन पनि नेकपामा समाहित हुनुभएको छ ।

नवप्रवेशी ओलीले रुकुम पूर्वको विकास र समृद्धिका लागि संयोजक दाहाललाई अत्याधिक मत दिएर विजयी गराउन आफूहरु आतुर रहेको बताउनुभयो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us