महानगरको बागडोरबाट सिंहदरबारको यात्रा तय गर्न बालेनको राजीनामा

३ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ महानगरको इतिहासमा एउटा भिन्न तरङ्ग ल्याएका बालेन्द्र शाह (बालेन) ले अन्ततः महानगरपालिकाको प्रमुख पदबाट विश्राम लिएका छन्। आइतबार उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा पुगेर उनले बुझाएको राजीनामा पत्र केवल एउटा पदको त्याग मात्र थिएन, बरु राष्ट्रिय राजनीतिको ठूलो मैदानमा प्रवेश गर्ने एउटा औपचारिक घोषणा पनि थियो।

‘महानगरवासीको हितमा इमानदारीपूर्वक काम गर्ने प्रयास गरेँ’ भन्दै कार्यकालको संक्षिप्त समीक्षा गरेका बालेनले आफ्नो राजीनामा पत्रमा आगामी नेतृत्वका लागि सुभेच्छा मात्र प्रकट गरेनन्, बरु आजैका मितिदेखि लागू हुने गरी पद खाली गरिदिए। उनको यो बहिर्गमनसँगै स्थानीय सरकार सञ्चालन ऐन बमोजिम उपप्रमुख सुनिता डंगोलको काँधमा महानगरको ‘कार्यबाहक प्रमुख’ को जिम्मेवारी आइपुगेको छ।

तर, राजीनामाको मसी सुक्न नपाउँदै बालेनको यात्राले नयाँ मोड लिएको छ। महानगरबाट निस्किए लगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मुख्यालय ‘घण्टी घर’ पुगेका छन्। प्राप्त जानकारी अनुसार, उनी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारीमा छन्, जहाँ उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्नेछन्। रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने गरी आन्तरिक सहमति समेत गरिसकेको छ।

यसरी, काठमाडौँको सडक र फोहर व्यवस्थापनमा केन्द्रीकृत बालेनको राजनीति अब देशको केन्द्रीय नीति निर्माणको तहमा पुग्ने अभिलाषासहित सङ्घीय संसद्को ढोका ढकढक्याउन पुगेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us