निर्वाचन आचारसंहिता लागू
काठमाडौं । नेपालमा आसन्न दुई महत्त्वपूर्ण निर्वाचनहरू-माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन आयोगले आज (सोमबार) देखि ‘निर्वाचन आचारसंहिता, २०८२’ लागू गरेको छ। सोमबार बिहान १२ बजेदेखि नै राज्यका शक्ति र सरोकारवालाहरू आयोगको विशेष निगरानीको घेरामा परेका छन्।
को-को परे निगरानीमा?
आचारसंहिताले शीतल निवासदेखि सिंहदरबार र स्थानीय वडासम्मका शक्ति केन्द्रहरूलाई बाँधेको छ।
सत्ता र शक्ति: नेपाल सरकार, प्रदेश सरकार, मन्त्रीहरू र संवैधानिक निकायका पदाधिकारीहरू।
प्रशासन र सुरक्षा: सरकारी कर्मचारी, सुरक्षा निकायका सदस्य र सार्वजनिक संस्थाका कर्मचारीहरू।
राजनीतिक संयन्त्र: दलहरू, तिनका भातृ सङ्गठन र उम्मेदवारका प्रतिनिधिहरू।
नागरिक र साझेदार: विकास साझेदार संस्थाहरू, मतदाता शिक्षा सञ्चालक र स्वयं मतदाताहरू।
आयोगले केवल निर्वाचन गराउनुलाई मात्र सफलता मानेको छैन। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउँदै भयमुक्त वातावरण सिर्जना गर्नु नै यो आचारसंहिताको मूल मर्म रहेको आयोगको दाबी छ। अर्को सूचना नभएसम्मका लागि यी सबै निकाय र व्यक्तिहरूले कुनै पनि यस्तो गतिविधि गर्न पाउने छैनन् जसले मतदातालाई प्रभावित पारोस् वा निर्वाचनको निष्पक्षतामा प्रश्न उठाओस्।


