वामदेवले राष्ट्रियसभाबाट राजीनामा दिँदै
काठमाडौं । राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले राजीनामा दिने भएका छन् ।
फागुन २१ गते हुने निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नका लागि गौतमले राजीनामा गर्न लागेका हुन् । आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने भएकाले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन लागेको गौतमले बताए । २०७७ असोज १ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका गौतमको कार्यकाल फागुन २० गते सकिँदैछ ।
एमालेका तत्कालीन उपाध्यक्ष गौतम २०४८ सालदेखि नै बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका थिए । २०७० सालमा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडेका थिए ।
तर चुनाव जित्न भने सकेनन् । उनी कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । त्यसपछि बर्दिया १ बाट चुनाव नलडेका उनी अहिले पुनः सो निर्वाचन क्षेत्रमा चुनाव लड्ने भन्दै मतदाता भेटघाटमा सक्रिय हुँदै आएका छन् ।
