जनआन्दोलनदेखि ‘जेनजी’ विद्रोहसम्म: १९ वर्षपछि सिंहदरबार फर्कियो संसद्

४ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । नेपाली राजनीतिको केन्द्रविन्दु मानिने सिंहदरबारले झन्डै दुई दशकपछि फेरि संसद्को राप र ताप महसुस गर्ने भएको छ। वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछि बानेश्वर सरेको संसद्, हालैको ‘जेनजी’ (Gen-Z) आन्दोलनको राँकोले बानेश्वरस्थित भवन ध्वस्त बनाएपछि पुनः आफ्नै पुरानो घर सिंहदरबार फर्किएको हो।

माघ ४ गतेदेखि सुरु हुने राष्ट्रिय सभाको अधिवेशन सिंहदरबारमै बस्ने निश्चित भएको छ। यसले नेपाली संसदीय इतिहासमा एउटा महत्वपूर्ण चक्र पूरा गरेको छ।

२०६३ सालमा तत्कालीन सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको साक्षी बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बानेश्वर) अब इतिहासको पानामा सीमित भएको छ। राजा वीरेन्द्रको आग्रहमा चीन सरकारले उपहारस्वरूप बनाइदिएको यो कलात्मक भवन गत भदौ २३ र २४ गतेको आन्दोलनमा जलेर नष्ट भयो।

बानेश्वरमा संसद् सर्नुअघि सिंहदरबारकै ‘ग्यालरी बैठक’ मा संसदीय अभ्यास हुने गर्थ्यो। अहिले फेरि बाध्यात्मक परिस्थितिका कारण सिंहदरबारभित्रैको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभा बैठकका लागि तयार पारिएको छ।

नयाँ पुस्ताको ‘जेनजी’ आन्दोलनले भौतिक रूपमा बानेश्वरको भवन खरानी बनाए पनि यसले राज्यलाई आफ्नै स्थायी संरचना छिटो सक्न दबाब दिएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार: “तत्कालका लागि समितिको हललाई परिमार्जन गरेर राष्ट्रिय सभा चलाउने तयारी पूरा भएको छ। तर दीर्घकालीन रूपमा सिंहदरबारभित्रै निर्माणाधीन नयाँ भवनलाई नै मुख्य केन्द्र बनाइनेछ।”

प्रतिनिधि सभाको आगामी निर्वाचन फागुन २१ गते तोकिएको छ। उक्त निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिहरूले सम्भवतः बानेश्वरको भाडाको वा अस्थायी विकल्पमा बस्नुपर्ने छैन। सहरी विकास विभागका अनुसार नयाँ संसद् भवनको काम ८८ प्रतिशत सम्पन्न भइसकेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us