मजदुरी गर्न भारत पुगेका दुई नेपाली परिवारका ९ जनाको मृत्यु
सल्यान । आफ्नो गाउँको पाखापखेरामा दुई छाक टार्ने जोहो नभएपछि अढाई वर्षअघि सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका केही परिवारले एउटै बाटो रोजे— मुग्लान (भारत) पस्ने । तर, सोचेको कहाँ हुन्छ र? त्यही मुग्लानको एउटा सानो कोठामा आइतबार राति सल्किएको आगोले दुई परिवारका ९ जनाको सपना मात्र जलाएन, उनीहरूको अस्तित्व नै मेटाएको छ ।
भारतको हिमाचल प्रदेश, सोलान जिल्लाको अर्कीमा मजदुरी गर्दै आएका धनबहादुर विक र काशिराम विकको परिवार राति काम सकेर थाकेको शरीर बिसाउन पसल माथिको कोठामा सुतेका थिए । २७ गते राति अचानक पसलमा आगलागी सुरु भयो । क्षणभरमै पसलमा रहेका ग्यास सिलिन्डरहरू बमझैं विस्फोट भए । “सिलिन्डर पड्किँदा हाम्रा मान्छेका शवहरू चिन्नै नसकिने गरी छियाछिया भएका छन्,” घटनास्थलबाट ज्यान जोगाउन सफल भएका आफन्त प्रेम विकले रुँदै भने, “हामी अलि परको कोठामा भएकाले भाग्न सफल भयौँ, तर उनीहरूले त भाग्ने मौका समेत पाएनन् ।”
विस्फोटमा परी मृत्यु हुनेमा दुई दाजुभाइ गरी सँगै बस्दै आएका परिवारहरू छन् । धनबहादुर विक (३३ वर्ष) को परिवार, श्रीमती कविता, दुई छोरीहरू राधा र रेनुका, तथा छोरा राजन ।काशिराम विक (४७ वर्ष) को परिवार: श्रीमती टीका, छोरी अनु र छोरा किरण ।
आफ्ना छिमेकी र आफन्तहरू एकैसाथ अस्ताएको खबरले सल्यानको टाकुरा बस्ती अहिले मर्माहत छ । घटनाको खबर पाएलगत्तै सिद्धकुमाख गाउँपालिका-२ ले मंगलबार वडाभर शोक बिदा दिएको छ ।
वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार, गरिबीकै कारण यी परिवार साहुको ऋण तिर्न र परिवार पाल्न भन्दै अढाई वर्षअघि भारत गएका थिए । “आफ्नै गाउँमा रोजगार नहुँदा हाम्रा मान्छेहरू अर्काको देशमा कहिले बाढी, कहिले पहिरो त कहिले यस्ता दुर्घटनाको शिकार भइरहेका छन्,” उनले भावुक हुँदै भने ।
अहिले भारतको सोलान जिल्लास्थित सुरक्षाकर्मीको टोलीले क्षतविक्षत भएका शवहरू संकलन गरिरहेको छ । शवहरूको अवस्था यति भयानक छ कि त्यसलाई नेपाल ल्याउने कि भारतमै दाहसंस्कार गर्ने भन्ने विषयमा अझै टुङ्गो लाग्न सकेको छैन । स्थानीय प्रशासन र त्यहाँ रहेका नेपालीहरूबीच यसबारे छलफल भइरहेको छ ।
