कांग्रेस विशेष महाधिवेशन लम्बियो

४ महिनाs अगाडि

डायस्पोरा नेपाल

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मंगलबारसम्मका लागि लम्बिएको छ ।

मंगलबार बिहान ९ः०० बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए ।

दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मंगलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ । ‘पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ,’ संयोजक पोखरेलले भने ।

उनले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने संख्या बढेको र हालसम्म ६३ प्रतिशत पुगेको जानकारी दिए ।

विवाद मिलाउन मध्यमार्गी प्रस्ताव

नेपाली कांग्रेसभित्र देखिएको विवाद मिलाउनका लागि मध्यमार्गी प्रस्ताव अघि सारिएको छ । डा. शेखर कोइरालानिकट रहेको जिल्ला सभापतिहरूले उक्त प्रस्तावमाथि छलफल गरी नेताहरूलाई जानकारी गराएका छन् ।

आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने संशयले मध्यमार्गी प्रस्ताव बाहिर ल्याइएको छ । जसमा विशेष महाधिवेशनको पार्टीले स्वामित्व लिने, सभापति शेरबहादुर देउवाले उम्मेदवारका लागि हस्ताक्षर गर्ने अधिकार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रदान गर्ने, नियमित महाधिवेशनको सुनिश्चितता गर्ने र विशेष महाधिवेशनमा प्रस्तुत भएका दस्तावेजलाई पार्टीको पुँजीको रुपमा स्वीकार गर्नेलगायत छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us