रहेनन् वरिष्ठ पत्रकार होमनाथ दाहाल
काठमाडौं । वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दाहालको शुक्रबार साँझ मैतीदेवीस्थित निवासबाट उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा निधन भएको परिवारजनले जनाएका छन् । उनी दम लगायतका रोगबाट लामो समयदेखि पीडित थिए । उनकी धर्मपत्नी सुधा दाहाल वीर अस्पतालमै उपचाररत छिन् ।
लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि लडेका दाहाल नेपाल पत्रकार महासंघका पूर्व सभापतिसमेत हुन् । बीपी विचारका अभियन्ता दाहाल ओखलढुंगाबाट सांसद र मन्त्री पनि भएका थिए । दाहालका दुई छोरा डा सुधांशु दाहाल र हिमांशु छन् ।
दाहाल राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशक र गोरखापत्र संस्थानका पूर्वअध्यक्ष समेत थिए ।
कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, प्रवक्ता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार दाहालको सम्मानमा तीन दिन (पुस २६, २७ र २८) पार्टीको झन्डा झुकाउने निर्णय गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
पुस २७ गते सबै कार्यालय बन्द गरिने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने पनि निर्णय गरिएको छ । साथै, ओखलढुङ्गामा १३ औं दिन शोकसभाको आयोजना गरिनेछ ।
‘एक विचारशील, मृदुभाषी र शालीन व्यक्तित्व’
नेपाली कांग्रेसका बौद्धिक नेता तथा पूर्व मंत्री बलदेव शर्मा मजगैयाँले वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ होमनाथ दाहालको निधनले ठूलो क्षति भएको बताए ।
“पंचायतकालमा नेपाली जनताको, प्रजातन्त्रवादीहरुको प्रतीक्षाको विषय हुन्थ्यो तरुण पत्रिका र राष्ट्र पुकार साप्ताहिक । होमनाथ दाहाल र राष्ट्रपुकार पर्यायवाची थिए। कांग्रेसको मुखपत्र जस्तै थियो राष्ट्र पुकार। राष्ट्र पुकार पढेर देशभरिका कार्यकर्ता, साथीहरुले निर्देशन पाउँथे र विचार पाउँथे। नेपालको प्रजातान्त्रिक आन्दोलनमा, संघर्षमा उहाँको उल्लेख्य योगदान रह्यो। संसदमा पनि हामी संगै थियौं। पछि कृषि मंत्री पनि हुनुभयो। उहाँ एक शालीन व्यक्तित्व, विचारशील, चिन्तक, मृदुभाषी र सज्जन व्यक्ति हुनुहुन्थ्यो,” मजगैयाँले भने।
“कांग्रेसले अहिले सत्ताभन्दा बाहिर रहेका मानिसहरुको अभाव मान्दैन। खोला तर्यो लौरो बिर्स्यो जस्तो प्रचलन छ। तर पत्रकारिता गर्ने साथीहरु र कांग्रेससंग आबद्ध साथीहरुले, खास गरी हाम्रो पुस्ताले, उहाँलाई बिर्सन सक्ने छैन। म स्वर्गीय होमनाथ दाजुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु र हाल उपचाररत भाउजुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,” उनले भने।
