एनआरएनएको पहलमा दुई नेपाली विद्यार्थीले उज्बेकिस्तानमा निःशुल्क एमबीबीएस पढ्ने
काठमाडौँ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सामाजिक सेवाको क्षेत्रमा अर्को एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको छ। संघको विशेष पहलमा आर्थिक अवस्था कमजोर भएका तर शैक्षिक रूपमा अत्यन्तै अब्बल दुई जना नेपाली विद्यार्थीले उज्बेकिस्तानको एसियन इन्टरनेशनल युनिभर्सिटीमा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्।
गत मार्चमा थाइल्याण्डमा सम्पन्न अन्तरराष्ट्रिय युवा तथा पिएनओ सम्मेलनका क्रममा भएको समझदारीलाई कार्यान्वयन गर्दै संघले बिहीबार ती विद्यार्थीहरूको नाम औपचारिक रूपमा घोषणा गरेको हो। छात्रवृत्ति पाउनेहरूमा कपिलवस्तुका २१ वर्षीय सचिन कुमार प्रजापति र चितवनकी २१ वर्षीया भावना रेग्मी रहेका छन् । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा (CEE) उत्तीर्ण गरेका यी दुवै विद्यार्थीले एनआरएनए र युनिभर्सिटीद्वारा आयोजित प्रतिस्पर्धात्मक परीक्षामा समेत सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए । उनीहरुलाई संघका अध्यक्ष डा. बद्री केसी र महेश कुमार श्रेष्ठले सम्झौता पत्र प्रदान गरेका छन् । संघको सचिवालय वालुवाटारमा आयोजित विशेष समारोहकाबीच छात्रवृत्ति प्रदान गरिएको हो ।
यो छात्रवृत्ति केवल नाममा मात्र सीमित नभई पूर्ण प्याकेजको रूपमा रहेको छ। यस अन्तर्गत विद्यार्थीहरूको सम्पूर्ण शैक्षिक शुल्क, होस्टल र खाना खर्च, भिसा र बीमा शुल्कका साथै नेपालबाट उज्बेकिस्तान जाने र अध्ययन सकिएपछि फर्कने हवाई टिकट समेत युनिभर्सिटीले नै व्यहोर्नेछ।

तर, विद्यार्थीले आफ्नो अध्ययनलाई गम्भीरतापूर्वक लिनुपर्ने शर्त राखिएको छ; कुनै पनि परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुनेछ। साथै, आफ्नो अध्ययन पूरा गरेपछि यी भावी चिकित्सकहरूले नेपालको दुर्गम क्षेत्र वा सरकारले तोकेको स्थानमा अनिवार्य रूपमा दुई वर्ष सेवा गरी राष्ट्रलाई योगदान दिनुपर्नेछ।
यस पुण्य कार्यलाई सफल बनाउन एनआरएनए आइसीसी सदस्य डा. किसान भण्डारीले निर्णायक र नेतृत्वदायी भूमिका खेलका छन् । उनको निरन्तरको प्रयास र युनिभर्सिटीका रेक्टर एस.एस. देखकानोयको सकारात्मक सहयोगका कारण नेपाली विद्यार्थीको डाक्टर बन्ने सपनाले साकार रूप लिएको हो।
संघले यस प्रक्रियामा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सहयोगी हात र सञ्चारकर्मीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ।
