सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उले निर्वाचनका लागि सरकारले अनुकूल वातावरण तयार गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले मुलुकको राष्ट्रियता सुदृढ हुन नदिनका लागि शान्ति खलबलाउने प्रयास पटकपटक दोहोरिएको तर्क गरे । “मुलुक अशान्त भएपछि त्यसलाई बहाना बनाएर देशलाई कमजोर बनाउने शक्ति र तत्त्व बढी क्रियाशील हुन्छन्”, उनले भने, “त्यसकारण शान्ति सुव्यवस्था कायम गर्न हामीले सदैव ध्यान दिनुपर्दछ ।”
एमाले देश, सुशासनप्रति जिम्मेवार भएकाले नेता तथा कार्यकर्ता एमालेप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले देश र जनताप्रति आफ्नो इमान सधैँ कायम नै रहने उल्लेख गरे ।
सङ्गठनका अध्यक्ष विनोद पाण्डेले हरेक नेपालीले सिपाहीका रूपमा काम गर्नुपर्ने बताए । उनले सरकारले निर्धारित समयमा प्रतिनिधि सभाको निर्वाचन गराउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । भूपु सैनिक र प्रहरीलाई उत्पादनमूलक काममा सरकारले खटाउनुपर्ने पनि उनले बताए। ।
