काठमाडौं । नेपाली काङ्ग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले पुष २७ र २८ गते (जनवरी ११ र १२ तारिख) काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको सहभागिताको लागि आग्रह गरेका छन् ।

बुधबार नेपाली काँग्रेसको विशेष महाधिवेशन सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन प्रतिनिधिहरुलाई सहभागी हुन आग्रह गरिएको हो ।

नेपाली काङ्ग्रेसका नेता सुवास पोखरेलले पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय मानेको भन्दै यसले लिने हरेक निर्णयहरूले आफैमा वैधता प्राप्त गर्ने बताए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधानको धारा १७(१) अनुसार २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्छ । यदि त्यो सम्भव नभए धारा १७(२) बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ । यसैबीच पार्टीले २०६२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५औं महाधिवेशन सम्पन्न हुन सकेन । यस्तो अवस्थामा माग बमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प बनेको हो ।
यसअनुसार २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था छ । विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि नरहेको नेता पोखरेलले बताए ।

उता,नेपाली कांग्रेसले पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता कार्यकर्तालाई अपिल गरेको छ ।

केन्द्रीय कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यलाई अपिल गरेको हो ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले  पत्रकार सम्मेलन गरी यही पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस केन्द्रीय कार्यालयले सो परिपत्र जारी गरेको हो ।

गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनका लागि पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको निवेदनअनुसार तीन महिनाभित्र विशेष महाविधेशन गर्नुपर्ने सो पक्षले माग गर्दै आएको छ ।

विशेष महाधिवेशन बोलाउने अधिकार

कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारेको छ ।

गत मङ्सिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधानबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिसकेका सन्दर्भमा विशेष महाधिवेशनको औचित्य मङ्सिर १५ गतेदेखि नै स्वतः समाप्त भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन/महाधिवेशनको प्रक्रिया र कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विभिन्न सञ्चारमाध्यममार्फत पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले समानुपातिकतर्फ निर्वाचन आयोगमा उम्मेदवार प्रस्तुत गरिसकेको र राष्ट्रियसभा सदस्यको मनोनयनपत्र दर्ता भइसकेको उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा अझ सशक्त रूपमा क्रियाशील भई लागिपर्न आह्वान गरिएको छ ।