एनआरएनए १० औं विश्व सम्मेलन स्थगित (पत्रसहित)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौं । गैरआवासीय नपाली संघ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन (महाधिवेशन) तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले १० औं विश्व सम्मेलन स्थगित गरेको हो ।
निर्वाचनको प्रस्तावित मिति अक्टोबर २० र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको संघले प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटकसम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो। आगामी अक्टोबर १८ भित्र निर्वाचन मिति नतोकिए वर्तमान कार्यसमितिले बैधानिकता गुमाउने विधानमा उल्लेख छ ।

बैठकले विधानका प्रावधानलाई टेक्दै संघका विशेष परिस्थितिमा ६ महिना विश्व सम्मेलन सार्न सकिने प्रावधानअनुसार ६ महिनाभित्र निर्वाचन गर्नेगरी सम्मेलन सार्ने आइतबार बसेको संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले निर्णय गरेको संघका प्रवक्ता डिबी क्षेत्रीले बताए ।

अब परराष्ट्र मन्त्रालयलगायतसँग समन्वय गरी नयाँ मिति तय गरिने उनको भनाइ छ । महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि निर्वाचनका सबै प्रकृया रोकिएको क्षेत्रीले दावी गरे ।

एनआरएनएमा अध्यक्षका प्रत्यासी कूल आचार्य समूहले प्रतिनिधि चयनमा विवाद रहेको दावी गर्दै परराष्ट्रमा उजुरी दिएको थियो । सो उजुरीपछि परराष्ट्रले दुई पटकसम्म एनआरएनएलाई पत्र काटेको थियो । पछिल्लो पत्रमा संघको विधान अनुरुप तोकिएको मितिमा महाधिवेशन नगर्ने अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमान लगायतका राष्ट्रिय समितिको वैधानिकतामाथि मन्त्रालयले प्रश्न उठाउँदै नयाँ निर्वाचन गर्न निर्देशन दिएको थियो ।

पत्रमा संघको कुनै राष्ट्रिय समितिमा विद्यार्थीहरु सदस्य बनेका छन् भने त्यसको पुनरावलोकन गर्नु भनिएको छ । सबै प्रक्रिया पुरा गरेरमात्रै निर्वाचन गर्न मन्त्रालयको निर्देशन छ ।

संघको संस्थापन समूहले परराष्ट्रले अनावश्यक हस्तक्षेप गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ भने आचार्य समूहले धाँधली भएको विषयमा मन्त्रालयको हस्तक्षेप स्वाभाविक भएको जिकिर गर्दै आएको छ ।

एनआरएनएमा बद्री केसी, कुल आचार्य र रविना थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउदै आएका छन् ।

No description available.
© 2022 All Right Reserved DiasporaNepal