अब देश चुनावमा गयो: प्रचण्ड

४ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश निर्वाचनतिर प्रवेश गरिसकेको बताएका छन्।

सङ्खुवासभामा नेकपा निकट  प्रेस सेन्टरले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले देशमा अब सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको बताए।

“सबै राजनीतिक दल निर्वाचनमा लागिसकेका छन्, हिजो निर्वाचन भन्दापनि संसद् पुनर्स्थापना भन्ने दलहरू पनि थिए। ती दलहरू पनि, जेनजीका केही समूह पनि अरू माग राख्दै आइरहेका थिए। तर उनीहरु पनि अहिले निर्वाचन नै विकल्प हो भन्ने ठाउँमा आइसकेका छन्। सबैले समानुपातिकको बन्द सूची बुझाइसकेकाले यही सरकारले नै फागुन २१ मै निर्वाचन गराउंछ,” प्रचण्डले भने।

निर्वाचनको तयारी

यसैबीच निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता नभएकाहरूको नाम थप्ने र त्रुटि सच्याउने काम पुरा भएको जनाएको छ  ।

अद्यावधिक मतदाता नामावली सार्वजनिक भइसकेको छ भने निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया पनि सकिएको छ । दलहरूले समानुपातिक उम्मेदवारको सूची बुझाइसकेका छन् । आयोगका अनुसार दलहरूलाई समानुपातिक सूचीमा भएका त्रुटि सच्याउन एक साताको समय दिइएको छ । दलहरूमा प्रत्यक्षतर्फका उम्मेदवारहरू जिल्लाबाट सिफारिस भइरहेका छन् ।

जेन–जी आन्दोलनका कारण सरकार परिवर्तन र संसद् विघटन भएपछि करिब दुई वर्षअगावै निर्वाचनमा जानुपर्ने अवस्था बनेको हो । यद्यपि संसद् विघटन असंवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटको टुंगो अझै लाग्न बाँकी छ । निर्वाचनको पक्षमा देखिएको नेपाली कांग्रेस पछिल्लो समय संसद् पुनःस्थापनाको विकल्पतर्फ पनि खुलेको छ । तर अन्य पुराना तथा नयाँ राजनीतिक दलहरू भने निर्वाचन तयारीमै केन्द्रित छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us