शनिबारदेखि श्री स्वस्थानी ब्रत कथा सुरु
काठमाडौँ – शनिबार ( ३ जनवरी) देखि सुरु भएको श्रीस्वस्थानी ब्रतका लागि काठमाडौँको साँखुस्थित शालीनदीमा स्नान गर्नेहरुको घुइँचो लागेको छ ।
पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी ब्रत अवधिभर शालीनदीमा ब्रतालुहरुको घुइँचो लाग्ने गर्दछ । परापूर्वकालदेखि नै धार्मिक इतिहास बोकेको शालीनदीमा देशका विभिन्न स्थान र छिमेकी राष्ट्र भारतबाट समेत हिन्दु धर्मावलम्बीहरु स्नान गर्न आउने गर्दछन् ।
स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार विवाहिता महिलाले एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधाना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । एक महिनासम्म श्री स्वस्थानी व्रत कथा श्रवण गरे मात्रै पनि शुभ फल प्राप्त हुने विश्वास गरिन्छ ।
एक महिनासम्म श्री स्वस्थानी व्रत कथा श्रवण गरे मात्रै पनि शुभ फल प्राप्त हुने विश्वास गरिन्छ ।
स्वस्थानी ब्रतकथासँग जोडिएको शालीनदीमा हरेक वर्ष एक महिनासम्म मेला लाग्दछ । पूर्वी काठमाडौँको साँखुस्थित शाली नदीमा मेला भर्न किशोर, किशोरी, बालक, वृद्ध र सन्तमहन्तहरु समेत पुग्ने गर्दछन् ।
वैदिक सनातन धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि घर–घरमा श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना र कथा वाचन सुरु गर्दछन्। स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यमा आधारित कुमार र अगस्त्य ऋषिबिचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन गर्ने परम्परा छ। यो सिलसिला आगामी माघ शुक्ल पूर्णिमासम्म निरन्तर जारी रहन्छ ।
स्वस्थानी र माधवनारायणको आराधनाले परिवारमा सुख, शान्ति र समृद्धि मिल्ने जनविश्वास रहेको छ।
