लण्डनमा मनाइयो टोपी दिवस
लन्डन – अहिले बेलायतमा निकै चिसो बढेको छ। तर चिसोलाई बेवास्ता गर्दै पश्चिम लन्डन र वरपर बस्ने नेपालीहरु अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन एकाबिहानै हन्स्लो हाइस्ट्रीटमा जम्मा भए।
उद्देश्य थियो नेपालीहरूको मौलिक पहिचानको रुपमा रहेको ‘अन्तरराष्ट्रिय टोपी दिवस’ भव्य रूपमा मनाउने ।
बिहान ११ बजे हन्स्लो हाइस्ट्रीटस्थित काठमाडौँ जोन रेस्टुरेन्ट नजिक भेला भएका सहभागीहरूले ल्याम्टन पार्कसम्म पदयात्रा गरेका थिए।
पदयात्रामा सहभागीहरूले ‘नेपाली पहिचान, हाम्रो गौरव’ र ‘सांस्कृतिक पदयात्रा र नेपालीको ऐक्यबद्धता’ जस्ता नारा लगाएका थिए।
ढाका र भादगाउँले टोपीमा सजिदै नेपाली झण्डा बोकेका नेपालीहरूको बाक्लो उपस्थितिले लन्डनको सडकमा छुट्टै रौनक थपेको थियो।
कार्यक्रममा नेपाली महिलाहरूको पनि उत्साहजनक सहभागिता थियो।
कार्यक्रम संयोजक कमल कँडेलले प्रवासमा रहेर पनि नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्न र राष्ट्रिय भावना अभिवृद्धि गर्न ‘टोपी दिवस’ मनाइएको बताए।
उनले आगामी दिनमा अन्य मौलिक चाडपर्वहरू पनि सामूहिक रूपमा मनाइने जानकारी दिए।
संयोजक कँडेलले भने “हाम्रो टोपी हाम्रो शान हो। अङ्ग्रेजी नयाँ वर्षको सुरुवातसँगै आफ्नो मौलिक पहिचानको स्मरण गर्नु गौरवको कुरा हो।”
वि.सं. २०७० सालदेखि औपचारिक रूपमा मनाउन थालिएको यो दिवस बिहीबार संसारका विभिन्न सहरहरुमा मनाइएको थियो।
