एनआरएनए यूकेद्वारा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा सम्मानित


लण्डन (बेलायत) । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मालाई बेलायतमा विशेष कार्यक्रम गरि सम्मान गरेको छ ।
बुधवार नर्थ वेस्ट लण्डनमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी अध्यक्ष शर्मालाई एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले दोसल्ला ओडाएर सम्मान गर्दै पत्रकारितामा उनको योगदानको प्रशंसा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन्। उनले प्रविधिको माध्यमबाट भौगोलिक दूरीका बाबजुद पनि नेपाली समुदाय एकआपसमा जोडिन सफल भएको बताइन्। उनले आफुलाई सम्मान गरेकोमा एनआरएनए यूकेलाई धन्यबाद दिइन् । एनआरएनए भित्र सबै पक्षलाई समेटेर लैजानु संस्थापन पक्षको जिम्मेवारी भएको बताउँदै एकताको खाँचो औंल्याइन्। अध्यक्ष शर्माले गैरआवासीय मुद्दाहरूमा नेपाली सञ्चारमाध्यमहरू सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइन्।
साथै, महासंघको यूके शाखाभित्र उत्पन्न समस्या आन्तरिक भएको बताउँदै उनले समाधान पनि शाखाभित्रैबाट खोज्नुपर्ने सुझाव दिइन्।
त्यसैगरी, संघका उपाध्यक्ष रामशरण सिमखडाले नेपाल पत्रकार महासंघसँग लामो समयदेखि सहकार्य हुँदै आएको स्मरण गर्दै भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थाभित्रको विवाद समाधान प्रक्रियागत तरिकाले अघि बढाउन आग्रह गरे। कार्यक्रममा बोल्दै एनआरएनए यूकेका सल्लाहकार चिरञ्जीवी ढकालले पत्रकार महासंघको नेतृत्वमा महिला हुनु गौरवको विषय भएको बताए।
वरिष्ठ पत्रकार सुमन खरेलले अध्यक्ष शर्माको भ्रमणले नेपाल र बेलायतका पत्रकारहरूबीच अनुभव आदान–प्रदानको अवसर जुटाएको बताए। उनले महासंघको शाखामा देखिएको विवाद समाधान गर्दै पत्रकारबीचको एकता कायम राख्न आग्रह गरे।
एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन प्रवक्ता श्याम लुइटेलले गरेका थिए। संघकी नवनिर्वाचित उपाध्यक्ष डा. रक्षा थापाले स्वागत मन्तव्य दिँदै पत्रकार महासंघको महिला नेतृत्व सबैका लागि प्रेरणादायी रहेको बताइन्।
कार्यक्रममा एनआरएनए यूकेका विभिन्न पदाधिकारीहरू, पत्रकारहरू तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूमध्ये बिमला सेने, इंग्ल्याण्ड राज्य परिषदकी अध्यक्ष राममाया बिष्ट, महिला संयोजक बिनु लामिछाने, प्रवासी नेपाली मंच यूकेका पूर्वअध्यक्ष दिनेश घिमिरे, आइसीसी सदस्य तुंगभद्र भुसाल र सरस्वती केसी लगायत थिए।