टर्की भूकम्प : हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

 टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ ।

उद्धारकर्मीहरूका अनुसार टर्कीमा १८ हजार तीन सय ४२ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकिने विश्वासका साथ खोजतलास गरिरहेका छन् । 

टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आह्वान गरेका छन् । साथै उनले आगामी साता टर्की र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् ।  

यसअघि अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचालन गर्ने बताएको थियो । संयुक्त राष्ट्रसंघीय सहायता निकाएका छ वटा विशाल वाहन राहत सामग्री लिएर सिरिया पुगेका छन् । यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्ट्रिय सहयोग हो । 

टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ । 

यसैगरी बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् ।

अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहयोगको घोषणा गरेको छ । अर्थ मन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ ।

© 2022 All Right Reserved DiasporaNepal