आज सुदूरपश्चिममा मुख्यमन्त्री शाहको शपथ , मन्त्रिपरिषद पनि विस्तारको तयारी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिने भएका छन्।

शुक्रबार अपरान्ह ३:३० बजे उनले पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत लिन नसकेपछि बिहीबार नै पदमुक्त भएका थिए।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

मुख्यमन्त्री शाहले आजै सानो आकारमा मन्त्रिपरिषद विस्तार तयारी गरेका छन्। उनले कांग्रेसबाट एक जना र नेकपा एकीकृत समाजवादीबाट एक जना मन्त्री बनाउने तयारी गरेको एक नेताले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सांसद छन्। यहाँ मुख्यमन्त्रीलाई बहुमत पुर्‍याउन २७ सांसद चाहिन्छ।

यसअघिका मुख्यमन्त्रीलाई समर्थन गरेको ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म कसैलाई पनि समर्थन नगर्ने बताइरहेको छ।

जेलमा रहेका रेशम चौधरीलगायत रिहाइ हुनुपर्ने माग नागरिक उन्मुक्ति पार्टीको छ।

प्रदेश सभामा कांग्रेसका १९ सांसद छन्। नेकपा माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका १ र नेकपा एकीकृत समाजवादीका ४ जना सांसद छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us