‘नेपाली केटी’ नामको एप बनाएर ठग्ने ८ जना पक्राउ

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार एक पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका आठ जना सार्वजनिक गरेको हो। 

ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी चार लाख रुपैयाँ झिकिएको भन्दै परिसरमा जाहेरी दिएका थिए।

त्यसपछि परिसरले विशेष टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट आठ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा भारत घर भई काठमाडौंको चाबहिल बस्ने २९ वर्षीय अवधेश कुमार, सप्तरी घर भई बौद्ध बस्ने ३४ वर्षीय दीलिपकुमार चौधरी, पर्साका ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, रौतहट घर भई हेटौंडा बस्ने २७ वर्षीया रविना चौधरी, बारा घर भई हेटौंडा बस्ने सन्तोष कुँवर छन्। 

यस्तै वीरगन्जका २८  वर्षीय राजु पटेल, २० वर्षीय साहिल परबैज र १९ वर्षीय शिवशंकर राउत पनि पक्राउ परेका छन्। 

एसएसपी सिद्धिविक्रम शाहका अनुसार उनीहरूले काठमाडौं उपत्यका र हेटौंडामा बसेर यो धन्दा चलाइरहेका थिए। ठगी गर्ने समूहका नाइके राजु पटेल हुन्। उनी व्यवस्थापकको भूमिकामा थिए। 

उनीहरूले ‘नेपाली केटी’ भन्ने एप बनाएका थिए। जुन एप उनीहरूले ह्वाट्सएपमार्फत् विभिन्न मानिसलाई पठाउने गर्थे। 

‘रियल नम्बर’ भन्ने एप प्रयोग गरी उनीहरूले ठूलो संख्यामा अपरिचित व्यक्तिहरूको नम्बर पाएको एसएसपी शाहले बताए। 

‘त्यो एप प्रयोग गरेर उनीहरूले थुप्रो नम्बरहरू निकाले। त्यसमा उनीहरूले त्यो एपको लिंक पठाउने गरेको देखियो,’ उनले भने, ‘ठेगाना पत्ता नलागोस् भनेर उनीहरूले भिपिएन पनि प्रयोग गरेको देखियो। जसले यहाँको नभएर अन्तै कुनै देशको ठेगाना देखाउँथ्यो। एपको लिंक खोल्नबित्तिकै फोनमा आफैं डाउनलोड हुने गरी सिस्टम बनाएका थिए।’

यसरी मेसेजमा पठाएको एपको लिंक खोलेपछि ‘नेपाली केटी चाहिन्छ?’ भन्ने जस्ता मेसेजहरू फोनमा देखिन्थ्यो। 
एप फोनमा डाउनलोड भएसँगै ह्याक हुने गरेको उनले बताए। 

यसरी एप बनाउने दुई जना युवाहरू छन्। २० वर्षीय साहिल र १९ वर्षीय शिवशंकरले एपको विकास गरेको एसएसपी शाह बताउँछन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us