पुर्व गोर्खाका समस्या समाधान हुनेमा ढुक्क छु : राजुदत लोकदर्शन रेग्मी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


वेल्स । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले पुर्व गोर्खाका पेन्सनलगायतका मुद्दाहरु निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन । राजदुत रेग्मीले आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राज्य समन्वय परिषद वेल्सको कार्यसमितिलाई शुभकामना र सम्मान गर्दै उक्त प्रतिवद्धता व्यक्त गरेका हुन । राजदुत रेग्मीले कुटनीतिक बिषयमा गरिएका छलफल परिणाम पछि मात्र सार्वजनिक गर्न मिल्ने बताए । ‘कुटनीतिक क्षेत्र जटिल र संवेदनशील भएकाले कतिपय बिषयहरु बिभिन्न कालखण्डमा सार्वजनिक हुन्छन’, उनले भने, ‘गोर्खा मुद्दा अव नेपाल सरकारको मुद्दा भैसकेकाले निष्कर्षमा पुग्छ ।’ राजदुत रेग्मीले नेपाल गएपनि कुटनीतिक ढंगबाटै पुर्व गोर्खाका मागहरु समाधान हुनेमा आफु आशावादी रहेको बताए ।

घुम्ति सेवा

गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राज्य समन्वय परिषद वेल्सको संयोजनमा राजदुतावासले घुम्ति सेवा समेत उपलव्ध गराएको छ ।
घुम्ति सेवामा राहदानी नवीकरण र वारेसनामालगायतका सेवा उपलब्ध गराइएको छ । यसअघि स्कटल्याण्डमा घुम्ति सेवा संचालन गरिसकेको राजदुतावासले वेल्समा रहेका नेपालीलाई दुतावासबाट पाउने सेवाहरु निरन्तर उपलव्ध गराउने जनाएको छ । राजदुतावास समक्ष वेल्सवासी नेपालीहरुले आ(आफ्ना समस्याका बारेमा राजदुत लोक दर्शन रेग्मी र उनको टिम समक्ष राखेका थिए ।

वेल्स सचिव दिपक सुब्वाले स्वागत गरेका थिए भने परिषद् वेल्सका अध्यक्ष कृष्ण भण्डारीले संचालन गरेको स्वागत तथा सम्मान कार्यक्रमको अध्यक्ष वेल्सका संरक्षक रामचन्द्र पोखरेलले गरेका थिए ।

यसैवीच, दुतावासले राज्य समन्वय परिषद् वेल्सका कार्यसमितिलाई दुतावासका तर्फबाट सम्मान गरेको छ । साथै, वेल्स कार्यसमितिले राजदुत र राजदुतवासका कर्मचारीलाई सम्मान गर्दै मायाको चिनो दिइएको थियो ।

राजदुत रेग्मीले सर्बसम्मतीले निर्वाचित वेल्स राज्य समन्वय समितिलाइ बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाली राजदुताबास नेपाल र नेपालीको उन्नती-प्रगति सधै साथमा रहेको जनाए । उनले बेलायतमा रहेका सम्पूर्ण नेपालीहरुको सुख-दुखको साथी भएको जनाउदै सल्लाह र सुझाब चाहिए सम्पर्क गर्न अनुरोध गरे । राजदुत रेग्मीले आफ्ना सात काम गर्ने योजनाका बारेमा बताउदै जलबायु परिवर्तन, बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण, नेपालको सिधा हवाई उडान लगायतका नेपाल बेलायत सम्बन्धहरुलाई मजबुद बनाउन नेपाली राजदुताबास लागि परिरहेको बताए।

त्यसैगरी दूतावासका तर्फबाट नियोग उपप्रमुख रोशन खनालले वेल्सबासी नेपालीहरुले राखेका जिज्ञासाहरुको जबाफ दिएकी थिइन् । खनालले दुताबासका सेवाहरुका बारेमा दुतावासको वेबसाइटमा जानकारी रखिएकाले थप केहि थप जिज्ञासा भएमा दुताबासको टेलिफोन वा ई-मेल मार्फत सम्पर्क गर्न अनुरोध गरिन् । उनले नेपालीहरुका लागि दुतावासको ढोका सदैब खुल्ला रहेको जानकारी दिइन् ।

कार्यक्रममा एनआरएनए युके वेल्सका प्रमुख संरक्षक रामचन्द्र पोखरेल, आइसीसी सदस्य राजेन्द्र पुडासैनी , नेपाली समाज वेल्सका अध्यक्ष बद्रि योंगा, एनआरएनए वेल्सका सल्लाहकार मोति पुन, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष बिपिन निरौला लगायतले मन्तव्य व्यक्त गरेका थिए।

वेल्स राज्य समन्वय समितिका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृत घले, सचिब दिपक सुब्वा, वरिष्ठ सदस्य बलराम अधिकारी लगायत सम्पूर्ण कार्यसमितिको सहभागीता रहेको थियो।

© 2022 All Right Reserved DiasporaNepal