एनआरएनए जापानको नवनिर्वाचित कार्यसमितिले लियो सपथ, अभिभावकीय संस्थाको रूपमा विकास गर्न सबैको आग्रह

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि जुलाई ३० मा सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन समितिका आयुक्त नेत्रप्रकाश भण्डारीले निर्वाचित कार्यसमितिका पदाधिकारीलाई टोकियोको मन्दिर रेष्टुरेन्टमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका थिए ।
अध्यक्षमामा शिवप्रसाद पौडेलको नेतृत्वमा निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास जापानका प्रतिनिधि जीतबहादुर कार्कीले एनआरएनए जापानले नेपाली समुदायको भावनालाई बुझेर सहकार्यमा काम गर्दै अप्ठारो र दुःखमा परेका नेपालीलाई योजनाबद्व र व्यवस्थित सहयोग गरिनुपर्नेमा जोड दिए । उनले परदेशमा सबैले भाइचाराको सम्बन्ध क़ायम गरिनुपर्ने र सिप आर्जन गर्दै सो सीपलाई स्वदेशमा प्रयोग र लगानी गर्न उत्प्रेरित गर्न एनआरएनए जापान सफल रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य राखदै प्रवासी मंच जापानका बाबुराम भण्डारीले निर्वाचनका सन्दर्भलाई लिएर देखिएका तिक़्ततालाई मेटदै जापानबासी नेपालीहरुको साझा संस्थाको रूपमा एनआरएनए जापानलाई कार्य गर्न अनुरोध गरे । त्यस्तै अर्का वक्ता प्रवासी नेपाली मंचका सुरेश केसीले आपसी सत्भाव र एकताले नै समृद्धि आउने भएकोले त्यतातर्फ ध्यान दिएर आर्थिक पारदर्शीता सहित संघका गतिविधि संचालन गर्न आग्रह गरे ।
सोही कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् सदस्यमा निर्वाचित श्रवणकुमार सत्यालले निर्वाचित हुनेहरुले फराकिलो मन बनाएर असन्तुष्ट पक्षलाई समेटेर लैजान आग्रह गरे । नेपालपत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले एनआरएनए जापानलाई नेपाली समुदायको अभिभावकीय संस्थाको रूपमा विकास गर्न आग्रह गरे ।
कार्यक्रमको सुरूवात गर्दै निर्वाचन आयुक्त भण्डारीले निर्वाचन समितिले आफ्नो दायित्व र ज़िम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै निर्वाचनका सम्बन्धमा अनावश्यक हल्ला नफ़िज़ाउन आग्रह गरे ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचन पछि सपथ ग्रहण गराउने कि नगराउने रस्साकस्सी भै अन्तत आज सपथ ग्रहण हुन पुगेको हो । निर्वाचन समितिका आयुक्त नेत्रप्रकाश भण्डारीले राखेको सपथ ग्रहण कार्यक्रम रोक्नका लागि एसिया प्रशान्त क्षेत्रका संयोजक गोविन्द श्रेष्ठ रोबिन्दले हिजो निर्देशन जारी गरेपछि अन्यौल जस्तो देखिएपनि भण्डारीको अडानका कारण शपथ हुन सकेको बताईएको छ ।
३० जुलाई २०२१ सम्पन्न निर्वाचनका सम्बन्धमा असन्तुष्ट पक्षले अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरि योजनाबद्द रुपमा असम्बन्धित पक्षले मतदान गरिएको भनिएको उजुरीका सन्दर्भमा यस अध्यक्ष मण्डलले उठेका सवालको सम्बोधन गर्ने उदेश्यले अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)सँग आवश्यक परामर्शमा गरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका संस्थापक अध्यक्ष श्री राजन प्रधानाङ्गको संयोजकत्वमा सुमन खड्का, सुकमान थिंङ, वेद काफ्ले र अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)बाट एक विज्ञको सहभागी रहने गरी अध्ययन तथा छानबिन समिति गठन गरि सो समितिले आफ़नो कार्य गरिरहेको छ ।


यस्तो थियो निर्वाचन परिणाम

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२१–२०२३ को कार्यकालका लागि भएको निर्वाचनमा शिवप्रसाद पौडेलले अध्यक्षमा बाजी मारेका थिए ।

जुलाई ३० तारिक भएको अनलाईन भेटिङ प्रणालीबाट भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी पौडेलले ३ हजार ३८ मत प्राप्त गरि निटतम प्रतिष्पर्धी अनिता गुरुङ लामालाई हराउदै अध्यक्षमा जीत हासिल गरेका हुन । कुल खसेको मतको ४० प्रतिशतभन्दा बढि मत पौडेलले प्राप्त गर्दा गुरुङले १ हजार ८ सय ६९ मत प्राप्त गरेकी थिइन् । पाँच जना प्रतिष्पर्धी रहेको अध्यक्ष पदमा नरेन्द्र कुमार बस्नेतले १२ सय ६९, किरण बर्माले १२ सय ४५ र सरोजकुमार खत्रीले १ सय ९१ मत प्राप्त गरेका छन् ।
सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा नविन निउरेले ३ हजार ९ सय ९३ मत प्राप्त गरि विजयी भएका छन् भने प्रतिष्पर्धी छत्रबहादुर दाहालले ३हजार २ सय १ मत प्राप्त गरेका छन् । त्यसैगरि राम थापा अनिलले २ हजार ७ सय ८०, राजकुमार अधिकारीले २ हजार ६ सय ५९, रामकृष्ण श्रेष्ठले २ हजार ६ सय ४९ र महेशकुमार कटवालले २ हजार १२ मत प्राप्त गरि उपाध्यक्षमा विजयी भएका छन् ।
महिला उपाध्यक्षमा संगीता अधिकारी सुवेदीले ३ हजार ८ सय २२ मत प्राप्त गरि विजथी हुदाँ प्रतिष्पर्धी कालिका थापाले ३ हजार ४ सय १ मत प्राप्त गरेकी छन् ।
निकै चासोका साथमा हेरिएको महासचिवको पदमा सिद्धार्थ श्रेष्ठले ३ हजार ७ सय २२ मत प्राप्त गरि विजयी हुदाँ प्रतिष्पर्धी टिकाराम खरेलले ३ हजार ४ सय ८४ मत ल्याउन सफल भएका छन् ।
कोषाध्यक्ष पदमा ३ जनाको उम्मेदवारी रहेकोमा ३ हजार १ सय ६७ मत ल्याउदै कुष्ण गैरे शर्मा विजयी हुदाँ निकटतम प्रतिष्प्रर्धी सचिन श्रेष्ठले २ हजार १ सय ५३ मत ल्याएका छन् भने कृष्णप्रसाद खनालले १९सय १५ मत हासिल गरेका छन् ।
युवा संयोजक पदका प्रत्यासी राकेश लामाले यस निर्वाचनकै सर्वाधिक ४ हजार ६ सय ५२ मत आफ्नो पक्षमा पार्दै सो पदमा विजयी हुदाँ प्रतिष्पर्धी राजेश खनालले २ हजार १ सय ९७ मत लिन सफल रहेका छन् ।
७ पद सदस्यका लागि १८ जनाले प्रतिष्पर्धा गरेकामा प्रकाश लामिछानेले ४ हजार २७, राजु भण्डारी सुनिलले ३ हजार ६४, भिमसेन राय भीम रायमाझीले ३ हजार १२, दिलिप कडेलले २ हजार ७ सय २८ मोहनसंिह मडैले २ हजार ६ सय २८, चन्द्रा कुमारी केसीले २ हजार ५ सय ६२ र लक्ष्मी केसी मर्हजनले २ हजार २ सय ६९ मत प्राप्त गरि सदस्य पदमा निर्वाचित भएका छन् ।
अन्तराष्ट्रिय समन्वय परिपद् सदस्यका लागि भएको मतदानमा दिपक कार्कीले ४ हजार १ सय ८७, सुपेन्द्र घिसिङले ४ हजार १ सय २८, नरबहादुर थापाले ३ हजार ७ सय ४५, लक्ष्मण बानियाँले ३ हजार ६ सय ७४, श्रवणकुमार सत्यालले ३ हजार ५ सय ८१ र रोविनप्रसाद शेरचनले ३ हजार ५ सय ८ मत प्राप्त गरि विजयी हुदाँ डाक्टर बलराम श्रेष्ठले ३ हजार २ सय ५८ र रामहरि पुडासैनीले २ हजार ६ सय ७९ मत हासिल गरेका छन् ।

कुल ९ हजार ३ सय ९४ मतदाता रहेको सो निर्वाचनमा ७ हजार ७ सय ५७ अर्थात ८३ प्रतिशत मत खसेको थियो । इमेल र मोबाइल एसएमएसमार्फत मतपत्र पठाइएमा ८ हजार ३ सय ३२ मतदाताले मतपत्र प्राप्त गरेका थिए भने ११ सय ६० मतदाताले मतपत्र प्राप्त गर्न सकेका थिएनन् ।
करिब १७ सय पञ्विकृत सदस्यहरुको वैयक्तिक विवरणमा हेरफेर गरेको पुष्टि भएपछि जुलाई २७ तारिकमा निर्धारित निर्वाचन जुलाई ३० का लागि सारिएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal