एनआरएनए डेनमार्कको अध्यक्षमा अधिकारी विजयी, आइसीसीमा शर्मा निर्विरोध

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

अध्यक्षमा निर्वाचित शैलेन्द्र अधिकारी (शैलु)

कोपनहेगन- गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद (एनआरएनए) डेनमार्कको छैठौं अधिवेशनबाट अध्यक्षमा शैलेन्द्र अधिकारी (शैलु) निर्वाचित भएका छन् ।

शनिवार कोपनहेगनमा भएको विद्युतिय मतदानमा २ उम्मेदवारलाई पछि पार्दै अधिकारीले १८० मत प्राप्त गरि विजयी भएका हुन् । प्रतिस्पर्धी शिव कार्कीले १४२ मत र दिपकराज रिजालले ८७ मत पाए ।

एनआरएनए डेनमार्कमा जम्मा ४६३ मतदातामध्ये ४०९ मत खसेको थियो । अधिकारी निवर्तमान महासचिब हुन् भने रिजाल उपाध्यक्ष । कार्की एनआरएनए डेनमार्कमा पूर्व महासचिब हुन् ।

अधिकारी र रिजाल जनसम्पर्क समिति निकट हुन् भने कार्की प्रवासी नेपाली मन्च नजिकका । कार्यसमितिमा अधिकारी समूहका बहुमत विजयी भएका छन् ।

आइसीसी सदस्यमा अशोक शर्मा पहिला नै निर्विरोध विजयी भएका छन् । शशी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि शर्मा विजयी भएका थिए । शर्मा एनआरएनए डेनमार्कका पूर्व कोषाध्यक्ष र पार्टी बस नेपालका सन्चालक हुन् ।

‘एनआरएनए डेनमार्क र आइसीसीबिचमा पुलको काम गर्ने छु, केही नयाँ योजना छन् सबैको साथ र सहयोगमा सफल पार्ने सोँचमा छु ।’ शर्माले भने ।

उपाध्यक्षमा राधाकृष्ण सापकोटाले २४५ र सुनिल विराजी यादवले २१८ मत प्राप्तगरि विजयी भए । चन्द्रमणी पौड्यालले १५३ मत पाएका थिए ।

कार्यकारी हैसियतका हिसाबले महासचिब पद महत्वपुर्ण मानिन्छ । महासचिबमा निवर्तमान सचिब महेशसिंह खत्रीले २३८ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी राघवेन्द्र प्रताप सिंह कार्की (रविन)ले १५४ मत पाएका थिए ।

खत्री जनसम्पर्क समिति निकट हुन् भने कार्की प्रवासी नेपाली मन्च नजिक रहेका छन् । सचिबमा शालिकराम शर्मा २४९ मत पाइ विजयी भए भने तिलकराज भट्टले १३१ मत ल्याए ।

कोषाध्यक्षमा मोहन के.सीले २०३ मत पाएर विजयी भए भने कृष्ण पराजुलीले १७७ मत पाउन सफल भए । के.सी नेपाली जनप्रगतिशील मन्च निकट हुन् भने पराजुली प्रवासी नेपाली मन्च नजिकका हुन् । सदस्यहरुमा प्रदिपकुमार पाण्डे २३६, भुवन खड्का २१६, केशवनिधि पन्त २१२, नरेन्द्र बहादुर पौडेल २०९, नारायण गौडेल २०८ मत प्राप्त गरि विजयी भएका छन् ।

निर्वाचन समितिका संयोजक कृष्ण पौडेलले विद्युतिय मतदान भएको डेढघण्टामा मत परिणाम सार्वजनिक गरेका थिए । ‘भब्य र सभ्य रुपमा विद्युतिय मतदान भयो र छिट्टै मतपरिणाम घोषणा गरियो, आइतबार साँझ सपथ ग्रहण कार्यक्रम रहेको छ ।’ पौडेलले भने ।

© 2022 All Right Reserved DiasporaNepal