बैंककमा एनआरएनएको जमघट

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्रशान्त क्षेत्रको ९ औँ क्षेत्रीय भेला शुक्रबारदेखि थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको छ । बैंककस्थित मिलिनियम हिल्टन होटलमा आइतबारसम्म चल्ने भेलामा क्षेत्रीयस्तरका सरोकारका विभिन्न विषयहरूका साथै एनआरएनले उठान गर्दै आएका महत्वपूर्ण मुद्दाहरूमा छलफल हुने एसिया प्रशान्त क्षेत्रीय संयोजक पारसमणि पोखरेलले जानकारी दिए । सो क्रममा विज्ञहरुबाट प्रस्तुतिका साथै सहभागीहरुबाट राय संकलन गरिने उनको भनाइ छ । 

विश्वभरका  करिब ३०० प्रतिनिधिहरुको सहभागिता रहने भेलामा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरूको भूमिका, नागरिकता निरन्तरता, बिदेशमा बस्ने नेपाली बिज्ञहरुको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रुपान्तरणको लागि लैगिंक समानता साथै गैरआवासीय आन्दोलनले उठान गरिरहेका मुद्दाहरु खासगरी सम्मानजनक बैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा, प्रवासबाट मताधिकार, युवा तथा महिला सवालका विषयमा छलफल हुनेछ ।  यसबारे बिभिन्न एनसीसीहरुका प्रस्तुती रहने कार्यक्रम समेत रहेको छ ।  भाइचारा अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ ‘मिलाप’ को अवधारणा अनुरुप यो भेला आयोजना गरिएको एनआरएनएले जनाएको छ । 

भेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसहित सांसद डा सूर्य पाठक, गण्डकी प्रदेशका मन्त्री मणिभद्र कंडेल, माओवादीका नेता ओम शर्मा,  नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, व्यवसायी राजेन्द्र खेतानलगायतको उपस्थिति रहेको छ । 

© 2022 All Right Reserved DiasporaNepal