एनआरएनए  यूके अध्यक्ष  प्रेम  गाहामगरलाई  सच्चिन ७२ घन्टे  अल्टिमेटम 

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका बहुमत पदाधिकारी र सदस्यहरुले अध्यक्ष प्रेम गाहा मगरमाथि अविश्वास ब्यक्त गरेकाछन्। अध्यक्ष गाहामगरलाई आज २५ अगस्तमा बहुमत पदाधिकारी र सदस्यहरुले हस्ताक्षर सहितको पत्र पठाउदै आफ्नो अविश्वास रहेको उल्लेख गरेका छन्।

पत्र जस्ताको तस्तै :

श्री प्रेम गाहा मगर 
अध्यक्ष 
गैर आवासीय नेपाली संघ
यूके  

विषयः– अध्यक्ष माथि विस्वास नरहेको जानकारी गराईएको बारे ।

हामी गैर आवासीय नेपाली संघ प्रति पुर्ण बफादार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेको कार्यसमितीका दुईतिहाई पदाधिकारी तथा सदस्यहरुले,  तपाईंबाट संस्थाको सिद्धान्त, गरिमा र यसको विधी विधान विरुद्ध, भएका तल उल्लेखित गम्भिर प्रकृतीका गल्तिहरुको समिक्षा गर्दै सोही आधारमा अध्यक्षको रुपमा तपाईं प्रति हाम्रो विश्वास नरहेको कुरा सामुहिक रुपमा जानकारी गराउन चाहान्छौ । 

तपाईंमाथि अविस्वास गर्नु पर्ने आधार र कारणहरु:
(१) तपाईंले गैर आवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद लगायतका सम्बन्धमा कार्य समितीको निर्णयहरुको अबज्ञा गर्नु भयो । गैर आवासीय नेपाली संघको सदस्यता शुल्क बापत गैर आवासीय नेपाली संघ युकेको विधानको धारा २०.१५ अनुसार अन्तराष्ट्रिय समन्वय परिषदमा पठाउनु पर्ने सदस्यता शुल्कका सम्बन्धमा कार्य समितीमा निम्नानुसार निर्णयहरु तथा कार्यहरु भएका थिए:
(क) मिती १७ मार्च २०२२ मा बसेको कार्य समितीको भर्चुअल बैठकले अन्तराष्ट्रिय समन्वय परिषदमा पठाउनु पर्ने सदस्यता शुल्कका सम्बन्धमा छलफल गरी अन्तराष्ट्रिय समन्वय परिषद संग एमओयु गरेर मात्र सदस्यता शुल्क बापतको पैसा पठाउने तथा गैर आवासीय नेपाली संघ युकेको तर्फबाट उक्त एमओयुको मस्यौदा तयार गर्ने जिम्मेबारी उपाध्यक्ष नारायण कडेललाई दिने निर्णय भएको थियो । 

(ख) मिती १५ मे २०२२ मा बसेको कार्य समितीको प्रत्यक्ष बैठकले अन्तराष्ट्रिय समन्वय परिषदमा पठाउनु पर्ने सदस्यता शुल्कका सम्बन्धमा छलफल गरी अन्तराष्ट्रिय समन्वय परिषद संग एमओयु गरेर सदस्यता शुल्क बापतको पैसा तत्काल पठाउने निर्णय गरेको थियो । 
(ग) मिती २० मे २०२२ मा तपाईं स्वयंले अन्तराष्ट्रिय समन्वय परिषदका कार्यकारी अध्यक्ष श्री कुल आचार्यलाई एक पत्र लेखि १५ मे २०२२ मा भएको निर्णय अनुसार एमओयुमा हस्ताक्षर हुने वित्तीकै सदस्यता बापतको पैसा पठाउने जानकारी गराउनु भएको थियो ।
 (घ) मिती २४ जुलाई २०२२ मा बसेको कार्य समितीको बैठकले अन्तराष्ट्रिय समन्वय परिषदमा पठाउनु पर्ने सदस्यता शुल्कका सम्बन्धमा छलफल गरी गैर आवासीय नेपाली संघ यूकेका तर्फबाट अन्तराष्ट्रिय समन्वय परिषद संग एमओयुमा हस्ताक्षर गर्ने अधिकार उपाध्यक्ष नारायण कंडेललाई दिने तथा एमओयुमा हस्ताक्षर भए पछि आइसीसीलाई तुरुन्त पैसा पठाउन कोषाध्यक्षलाई निर्देशन दिने  निर्णय भएको हो ।  कार्य समितीले आफनो कार्यक्षेत्र भित्र रहेर विधान अनुसार गरेको निर्णयका सम्बन्धमा त्यसको कार्यन्वयन भैसके पछि तपाईंले ति निर्णय र सो अनुसार भएको काम कारबाहिको बिरोध गरि कार्य समितीको सामुहिक निर्णयको अवज्ञा गर्नु भयो । 

(२) मिती २८ जुलाई २०२२ मा संघको अल्डरसट स्थित कार्यालयबाट आफ्नै फेसबुक पेज मार्फत भिडियोमा लाईभ बोल्दै नेपालीहरुको विचमा जातिय विभेद तथा घृणा उत्पन्न गराउने खालका अभीब्यक्तिहरु दिनु भयो । बेलायतमा मिलेर बसेको नेपाली समाजलाई उत्तेजित बनाएर हिंसा फैलाउने अभिप्रायले आफु संग मत बाझिएका वा कार्य समितीमा फरक मत राखेका ब्यक्तिहरुलाई सत्रुको रुपमा लिदै तिनिहरुको जरो उखल्नु पर्छ भन्ने आब्हान गरेर हिँसात्मक अभिव्यक्ति दिनु भयो । जरो उखेल्नु भनेको सर्बनास (विनास) गर्नु हो । गैर आवासीय नेपाली संघ कुनै मानवको जरो उखेल्ने (सर्बनास गर्ने) उदेश्यले गठन भएको संस्था होइन। गैर आवासीय नेपाली संघको अध्यक्ष जस्तो गरिमामय पदमा बसेको ब्यक्तिको यो अभिब्यक्ति आपत्ति र चिन्ताजनक छ । तपाईंले गैर आवासीय नेपाली संघ जस्तो पबित्र संस्थाको कार्यालयबाट सामाजिक संजाल मार्फत जातिय घृणा र हिंसाको वकालत गर्नु भयो ।

(३) गैर आवासीय नेपाली संघ नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । यसको नियमन गर्ने निकाय पनि परराष्ट्र मन्त्रालय नै हो । गैर आवासीय नेपाली सम्बन्धि ऐन नियमको परिधी भित्र रही पराराष्ट्र मन्त्रालयले गरेको नियमनका आधारमा नेपाल सरकारको निर्णयले मान्यता प्राप्त संघको अन्तराष्ट्रिय समन्वय परिषदका सम्बन्धमा तपाईले आपत्तिजनक अभिब्यक्ति तथा बेबाहार गर्नु भयो । अन्र्तराष्ट्रिय समन्वय परिषद यो संस्थाको सबै भन्दा माथिल्लो निकाय हो । यसले दिएको निर्देशनलाई पालना गर्नु राष्ट्रिय समन्वय परिषदको कर्तब्य हुन आउंछ । तर तपाईंले यसको पालना गर्नु पर्नेमा उल्टै यस्का पदाधिकारीहरुको मान मर्दन गर्ने तथा अपमान गर्ने गर्नुभयो । यतिमात्र होइन संघको यूके स्थित कार्यलयमा आईसीसीका पदाधिकारी तथा सदस्यहरुलाई र संघका सदस्यहरुलाई प्रतिबन्ध लगाउने, धम्किदिने, यूकेबाट निर्वाचित भएका अन्तरास्ट्रिय समन्वय परिषदका सदस्यहरुलाई कार्यालयमा प्रवेश निषेध गर्ने लगायतका ज्यादति गर्नु भयो । 

(४) गैर आवासीय नेपाली संघ युकेका कोषाध्यक्ष श्री विष्णु खरेलले हालै सार्वजनिक गर्नु भएको आर्थिक प्रतिबेदनमा संघको कल्याणकारी कोषबाट तपाईं अध्यक्ष ज्युको दवाबमा अत्यधिक खर्च भएको देखिएको छ । तपाईंले आफु निकट वा आफ्नो निजी काम गरेका ब्याक्तिहरुको खातामा संस्थाको पैसा पठाउन दवाव दिएर संघको कल्याणकारी कोषबाट करिब १२ हजार ५ सय भन्दा धेरै रकम दुरुपयोग गर्नु भएको देखिएको छ । यसरी संस्थाको कोषमा तपाईंले ठुलो आर्थिक नोक्सानी दिलाई अनियमिततामा प्रत्यक्ष संलग्न हुनु भयो । संघको आर्थिक प्रतिबेदन प्रकाशित गरे बापत कोषाध्यक्षलाई विभिन्न अनलाईन समाचार माध्याम तथा सामाजिक संजालको दुरुपयोग गरि उहांको व्यक्तिगत जीवनमा आक्रमण गर्ने । उहाँको अत्मसम्मानमा चोट पुर्याउने तथा चरित्रहत्या गर्ने कार्यमा प्रबक्तालाई समेत संलग्न गराई उहाको विरुद्ध गाली बेइज्जती हुने, मानहानी हुने गरि प्रचार प्रसार गराई उहाको निजी जिवन विरुद्ध सिलसिलेवार रुपमा आक्रमणमा उत्रनु भयो । 

(५) नेपाल एक सार्वभौसत्ता सम्पन्न मुलुक हो । सार्बभौम देश नेपालको राष्ट्र प्रमुखको तर्फबाट अन्तराष्ट्रिय कुटनिति सम्बन्धि जेनेभा महासन्धीले निर्दिष्ट गरेको सिद्धान्त, मान्यता, अधिकार, कर्तब्य तथा कुटनितीक उन्मुक्ती तथा मर्यादामा रहने गरी बेलायती महारानीलाई आफनो ओहोदाको प्रमाण पत्र बुझाई बेलायतमा कार्यरत सार्बभौम देश नेपालका एक उच्च तहका कुटनितिज्ञले तपाईको अबैधानिक र उदण्ड गतिविधीमा साथ नदिएको आबेगमा विदेशी भुमिमा (बेलायतमा) हाम्रो देशको अपमान गर्नुभयो । सार्बभौम राष्ट्रको राजदुतलाई आतिथ्य मुलुकको राष्ट्र प्रमुखले समेत परराष्ट्र मन्त्रालयले कुटनितीक कम्युनीकेशन सम्म गर्ने अन्तराष्ट्रिय प्रचलन विपरित नेपालका राजदुतलाई सत्रुराष्ट्रका दुतलाई समेत प्रयोग गर्न नमिल्ने “चेतावनी” भन्ने शब्द राखेर हाम्रो देश नेपालको अपमान गर्नु भयो । त्यती मात्र होइन आफु निकट एक जना स्थानिय काउसिलरलाई उक्त अपमान पत्रमा हस्ताक्षर गर्न लगाएर नेपाल राष्ट्रको हैसियत बेलायतको एउटा काउन्सिल बराबर हो भन्ने सन्देश दिन खोज्नु भयो । हाम्रो सार्वभौम राष्ट्र नेपालको बिदेशी भुमीमा अपमान गरिएको उक्त कागजमा गैर आवासीय नेपाली संघको छापको अनधिकृत प्रयोग गर्नु भयो । 

६) मिती ४ अगष्ट २०२२ मा बसेको कार्य समितीको भर्चुअल बैठकमा कार्य समितीको निर्णयलाई नमान्ने, आफुले जे भनेको छ त्यो मात्र स्वीकार्य हुने भन्दै कार्य समितीको कुरा सुन्न अस्वीकार गर्नु भयो । ६ अगष्टको संघ संस्था प्रतिनिधी सभाको कार्यक्रमको विषय बस्तु, लगायतका सवालमा कार्यसमितीको सुनुवाई गर्नु भएन । बरु उल्टै कार्यसमिती भन्दा बाहिर र गैर आवासीय नेपाली संघको आधिकारीक निकायहरु भन्दा बाहिर गएर कार्य गरी कार्य समितीको अपमान गर्नु भयो । तपाईंले गैर आवासीय नेपाली संघका सदस्यहरुमा भेदभाव गरी कतिपय निर्वाचित ब्यक्तिहरुलाई समेत निशेध गर्नुभयो । कार्य समितीका (दुइ तिहाई) बहुमत भन्दा बढि पदाधिकारी तथा सदस्यहरुको निर्णय र अभिमतलाई बेवास्ता गर्नु भयो । विधान र कार्य समितीले नचिनेको कथित कार्यक्रमका नाममा समाचार माध्यामहरुमा अन्धाधुन्ध समाचार दिदै कार्य समितीका पदाधिकारी तथा सदस्यहरुको विरुद्ध गाली बेइज्जती हुने तथा मानवीय सम्मानमा आँच आउने गरी प्रचार प्रसार गर्नु भयो । 

निष्कर्षः 
हामि गैर आवासीय नेपाली संघयूकेका तपसिल बंमोजिमका पदाधिकारी तथा सदस्यहरुले निम्न निष्कर्ष सहित गैर आवासीय नेपाली संघको अध्यक्षको रुपमा तपाईं माथि विस्वास नभएको जानकारी गराउन चाहान्छौ । 

तपाईंबाट भएको यी र यस्तै अवान्छित कृयाकलापहरुले संस्थाको मर्यादा, विस्वसनियतामा आंच आएको तथा संस्थामा आर्थिक, भौतिक तथा सांगठनिक  रुपमा गम्भिर क्षति हुन गएको हामिले ठहर गरेका छौ । (१) कार्य समितीको बैठकको बैधानिक निर्णयलाई असम्मान गर्ने, (२) सामाजिक संस्थाको कार्यालयको प्रयोग गरि सामाजिक संजाल मार्फत मानव मानव विच धृणा जगाउने तथा हिंसा जन्य अभिब्यक्ति दिने, (३) संस्थाको माथिल्लो निकायलाई अवज्ञा गर्ने, उक्त निकायमा कार्यरत समान्नित ब्यक्तिहरुलाई सार्वजनिक रुममा अपमान गर्ने, (४) संस्थाको कोषलाई दुरुपयोग गर्ने, (५) सार्वभौम देश नेपाललाई विदेशी भुमीमा अपमान गर्ने र (६) कार्य समितीको दुईतिहाई पदाधिकारी तथा सदस्य हरुलाईको निर्णयलाई बाइपास गरी संस्थाको अस्तित्व विरुद्ध अनाधिकार गतिविधी गर्ने कार्यले तपाईमा गैर आवासीय नेपाली संघ यूकेको अध्यक्षको रुपमा कार्य गर्न सक्ने क्षमताको अभाव भै अयोग्य भएको हाम्रो ठहर छ । यस संगै गैर आवासीय नेपाली संघ यूकेको अध्यक्षको रुपमा तपाईमाथि हाम्रो विस्वास नभएको निर्णय गर्न प्रयाप्त आधार भएकोले तपाई माथि कार्य समितीका पदाधिकारी तथा सदस्यहरुको अविस्वास रहेको कुरा जानकारी गराउन चाहान्छौ ।

अतः तपाईंमा यो संस्थाको अध्यक्षको हैसियतमा रहीरहने बैधानिक तथा नैतिक अधिकार छैन । त्यसैले यो पत्र प्राप्त भएको ७२ घण्टाभित्र माथि उल्लेख भएका ६ ओटै विषयमा स्पष्टिकरण सहित गल्ति नगर्ने प्रतिबद्धता र तपाईले आज सम्म संस्थालाई पुर्याउनु भएको क्षति तपाई आफै ब्योहोरी क्षतिपुर्ति गरिदिने प्रतिबद्धता जनाउनु हुन । तपाईले संस्थाको कार्यकारिणी समितीको बहुमतको यो निर्णयलाई बेवास्ता गरेमा तपाईले संस्थागत रुपमा यो संस्थाबाट बाहिरिएको ठानिने छ भने संस्थालाई पुर्याएको सम्पुर्ण क्षतिका लागि तपाईलाई जिम्मेवार ठहराइने गरि आवाश्यक कदम चालिने छ । 

यसरी तपाईंले गरेका माथि उल्लेखित ६ ओटै गल्ती तथा अवान्छित गतिविधीहरुका विषयमा स्पष्टिकरण सहित आइन्दा गल्ति नगर्ने प्रतिबद्धता र तपाईले संस्थालाई पुर्याएको क्षति ब्यक्तिगत रुपमा ब्योहोर्ने प्रतिबद्धता यो पत्र प्राप्त भएको ७२ घण्टाभित्र प्राप्त नभएमा यस विषयमा आवस्यक कदम चाल्न आग्रह गर्दै आईसीसीलाई छुट्टै पत्र पठाईने कुरा समेत जानकारी गराईन्छ । 

धन्यवाद ।
बोधार्थ 
श्री शेर बहादुर सुनार प्रमुख संरक्षक एनआरएनए युके 

© 2022 All Right Reserved DiasporaNepal