एनआरएनए आइसीसी अध्यक्ष पदमा त्रिपक्षीय भिडन्त

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) अध्यक्ष पदमा रबिना थापाले उम्मेदवार हुने औपचारिक घोषणा गरेपछि त्रिपक्षीय भिडन्त हुने भएको छ । संघ महिला उपाध्यक्ष थापा चुनावी मैदानमा आउनु अघि पर्वत पुगेर एनआरएनए सल्लाहकार कुल आचार्य र पत्रकार भेटघाट मार्फत उपाध्यक्ष डा.बद्री केसीले अध्यक्ष पदमा प्रत्यासी बन्ने बताएपछि त्रिपक्षीय भिडन्त निश्चित भएको हो । एनआरएनएको १० औं अन्तरराष्ट्रिय महाधिवेशन आगामी अक्टोबर २३-२५ मा हुने भएपछि आकांक्षीहरुले उम्मेदवारी घोषणा गरिरहेका छन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी वर्तमान उपाध्यक्ष थापा, डा.केसी र आचार्यले टिम निर्माण भने गर्न सकेका छैनन् । आकांक्षीहरु धेरै भएपछि टिम निर्माणमा अध्यक्ष पदका प्रत्यासीहरुलाई कठिनाई परेको छ । एनआरएनए निर्वाचन समितिले औपचारिक रुपमा मिति घोषणा गरेपछि टिम घोषणा गर्ने तयारीमा थापा, केसी र आचार्य रहेका छन् । एउटै पदमा धेरै आकांक्षीहरु भएपछि सबैलाई टिममा समेट्न तीनै जना अध्यक्ष पदका प्रत्यासीलाई मुस्किल छ ।
धेरै भन्दा धेरै आकांक्षीलाई टिममा पार्ने आश्वासन अध्यक्षका प्रत्यासीहरुले दिएको बुझिएको छ । उम्मेदवारहरुको पहिलो प्राथमिकता डा. केसीको टिम वा कुल आचार्यको टिममा पर्ने भन्ने छ । दुवै टिमका पर्न नसके तेस्रो धारका रुपमा बिहिबार औपचारिक पत्रकार सम्मेलन मार्फत चुनावी मैदानमा उत्रिएकी उपाध्यक्ष रबिना थापाको टिममा जान सक्ने देखिन्छ । दुवै टिमबाट असन्तुष्ट उम्मेदवारहरु तेस्रो पक्षमा पुग्दा एकाएक थापा बलियो हुने संभावना दावी केही एनआरएनए अभियन्ताहरुले गरेका छन । यद्यपी केसी र आचार्यले कुन मापदण्डका आधारमा टिम निर्माण गर्छन त्यो दिन पर्खनै पर्छ ।
प्रजातान्त्रिक धारबाट आचार्य र थापा चुनावी मैदानमा आएका छन भने प्रगतिशील धारबाट डा. केसी मैदानमा उत्रिएका छन ।एउटै धारबाट आचार्य र थापा चुनावी मैदानमा आउदा केसीलाई फाइदा हुने विश्लेषण धेरैले गर्न थालेका छन् ।यसबिचमा आचार्य र थापा विच सहमति गराउने भित्री प्रयास पनि भैरहेको स्रोतहरु बताउँछन ।

एनआरएनए आइसीसीको निर्वाचन प्रस्तावित मिति अक्टोबर २० आउँन एक महिना भन्दा कम रहदा डेलिगेट्स विवाद संरक्षक परिषद्को हातमा पुगेको छ । परराष्ट्र मन्त्रालयमा परेको उजुरीका बारेमा आइइएसमा छलफल गरि डेलिगेट्स विवाद समाधानका लागि संरक्षक परिषद्को सहयोग लिने गरि संघ अध्यक्ष कुमार पन्तले प्रस्ताव बैठकमा लगेका थिए । उक्त प्रस्ताव पारित भएपछि अध्यक्ष पन्तसहितको पुर्व अध्यक्षहरु भएको संरक्षक परिषद्ले विवादको समाधान चाडै गरि निर्धारित मितिमा (अक्टोबर २३-२५) मै निर्वाचन गर्ने गरि तयारी भएको बताइन्छ ।

© 2022 All Right Reserved DiasporaNepal