एनआरएन यूकेको प्रमुख संरक्षक शेर सुनार

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको प्रमुख संरक्षकको रुपमा शेर सुनार घोषित भएका छन् । अघिल्लो शुक्रवार घोषित मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित भएका प्रेम गाहा मगरले शपथ ग्रहरण समारोहमा प्रमुख संरक्षकमा सुनारलाई मनोनित गरिएको घोषणा गरे । उक्त घोषणा गर्दै उनले भने, ‘बेलायतको नेपाली समाजका वरिष्ठ समाजसेवी, हाम्रा अग्रज अभिभावकक शेर सुनारज्यूलाई मैले सरप्राइजस्वरूप प्रमुख संरक्षकको लागि आग्रह गर्दछु । मलाई आशा छ, तपाईंले स्वीकार गर्नुहुनेछ र बेलायतको नेपाली समुदायले समेत मेरो निर्णयमा सहमति जनाउनेछ’ । एनआरएनए यूकेका पूर्व उपाध्यक्ष एवम् अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका सुनार यसपटक गाहामगरको चुनावी अभियानका प्रमुख संयोजक पनि थिए ।

दुई बर्ष अघि सम्पन्न एनआरएनए यूके निर्वाचनमा विजयी तथा पराजित उम्मेदवार कतिपय सामाजिक क्षेत्रमा निष्क्रिय जस्तै छन् । एनआरएनए युकेमा निर्वाचित गत कार्यकालको कार्यसमिति केही जिम्मेवार व्यक्तिहरु त एउटै बैठकमा समेत सहभागी भएनन् ।

नेम र फेम कमाउनका लागि एनआरएनए युकेमा आउने र जाने क्रम जारी नै छ । यस भिडमा छुट्टै पहिचान स्थापित गर्न सफल भए एक सामाजिक अभियन्ता सुनार । पद, पैसा र प्रतिष्ठा भन्दा पनि सामाजिक भावनाले काम गर्ने थोरै मध्ये एक हुन् सुनार । एनआरएनए युके निर्वाचन २०१९– २०२१ मा अध्यक्ष पदमा पराजयको पीडा भोगेका सामाजिक अभियन्ता सुनारले २०२१–२०२३ मा आईपुग्दा अब्वल कमाण्डरको भूमिका निर्वाह गरेर चमत्कार नै देखाए ।

एनआरएनए बेलायतको इतिहासमै दोव्वर भन्दा बढी फरक मत सहित उनको टोलीले गाहामगर टिमलाई निर्वाचित गरायो। दुई बर्षअघि आफुले निर्वाचनमा भोगेको पराजयबाट पाठ सिकेका सामाजिक अभियन्ता सुनारले संस्थापन पक्षका हरेक योजनालाई असफल पार्ने योजना अघि सारे ।

यस्ता योजना ल्याउनु अघि समुदायमा नेताहरुसँगको दैनिकका बैठक, सामाजिक अभियन्ताहरुको सुझाव, मतदाता सँगको सम्बन्ध र पूर्व गोर्खाहरुको सुझाबको आधारमा उनले निर्वाचनमा विजय हासिल गर्ने ठोस आधार पत्ता लगाए । उनको योजनाअनुसार नै बेलायतभर एकै पटक अनलाईन सदस्यता ड्राइभ सुरु भयो । पुर्व उपाध्यक्ष रहँदा उनीसंग विवादमा अल्झेको संस्थामा जनविश्वास कायम गर्दै एनआरएनए यूकेमा १० हजार सदस्य बनाउने अभियानको नेतृत्व अनुभव थियो । सुनारको नेतृत्वमा सुरु भएको पंजीकृत सदस्य ड्राईभ हल्ला भन्दा पनि काममा जोड दिदै अघि बढ्यो ।

इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषद्मा तीब्र रुपमा गरिएको सदस्यता ड्राइभले विपक्षीहरु आत्तिए । उनीहरुले निर्वाचनमा सबै पदमा उम्मेदवार पाउन सकेका थिएनन् । तर, अध्यक्ष पदका उम्मेदवार गाहामगरको टिममा प्रवेश पाउनेको भिड लाग्न थाल्यो । कतिपयलाई टिममा नसमेटिएको भन्दै अभियन्ता सुनारले गाली पाए । आफ्नै साथीभाईहरु उनी माथि जाईलागे तैपनि सुनारले अविचलित ढंगले अभियान छाडेनन् । अन्ततः बेलायतवासी नेपालीको व्यापक समर्थनबाट आफ्नो टिमलाई जिताइ छाडे।

‘मेरो जीवनको मुख्य ध्येय नै समाज सेवा हो । मानव सेवा मार्फत मैले धेरै सन्तुष्टि प्राप्त गरेको छु,’ सुनार भन्छन् । कोरोना संक्रमणका बेलामा पनि सुनारले बृद्धबृद्धाहरुलाई घरमै खाना पुर्याएर सेवा गरेका थिए । सेवाभाव उनले एनआरएनए युकेमा आएर सुरु गरेका होइनन् । बरु सेवा गर्न एनआरएनए युकेमा आएका थिए । ‘आफ्नै निर्वाचनको दाउँपेचमा म असफल भएं । तर साथीहरुलाई बिजयी बनाउने सवालमा हाम्रो टिम सफल भएको छ, सुनारले खुसी साट्दै भने,’अव हामीले बेलायतवासी नेपालीलाई काम गरेर देखाउने बेला आएको छ । सबै साथीहरुलाई सकृय भएर काम गर्न म विशेष अनुरोध गर्छु ।’

गत आइतबार अल्डरशटस्थित एम्पायर हलमा शपथ लिए पछि नव निर्वाचित अध्यक्ष प्रेम गाहा मगरले बेलायतस्थित नेपाली समाजमा अभिभावकको भूमिका खेल्दै आएका सुनारलाइ एनआरएनए युकेको प्रमुख संरक्षक नियुक्त गर्न आफुले कार्य समितिमा प्रस्ताव लाग्ने घोषणा गरे पछि सिङ्गै हल तालीको गडगडाहटले भरियो। अब विभाजित नेपाली समाजलाई एकजुट गर्दै युवा जोशले भरिएको प्रेम गाहा मगर नेतृत्वको टिमलाई एक जिम्मेवार र लोकप्रिय कार्यसमिति बनाइ सबै नेपालीको मन जित्ने साझा संस्थाको रुपमा अगाडी बढाउने जिम्मा पनि उनै अनुभवी सुनारको कांधमा आइपुगेको छ। र, उनको सफलतामा नेपाली समाजको सफलता पनि जोडिएको छ।

बेलायती नेपाली समुदायका एक उदाहरणी पात्रको रुपमा स्थान कमाएका उनले प्रमुख संरक्षकको उपाधि पाइसकेपछि सुनारले भने,’यो मलाई दिइएको जिम्मेबारी बेलायतबासी नेपाली दाजुभाइ दिदीबहिनीहरु वीच  समानता कायम गर्न, एनआरएनएलाई संस्थागत विकास गर्न र सबैको साझा एनआरएनए बनाउने कुरामा उपयोग गर्नेछु ।’

© 2022 All Right Reserved DiasporaNepal