युक्रेनको विषयमा मतभेदका बीच मोदी र बाइडेनबीच भर्चुअल वार्ता हुदै

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । रुसको युक्रेन आक्रमणको विषयमा तटस्थ बसेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग महत्त्वपूर्ण भर्चुअल बैठक हुदै छ ।

युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर दुई देशबीच गम्भीर मतभेद भएका बेला यो बैठक हुन लागेको हो । भारतको युक्रेन प्रकरणमा भूमिकाको विषयमा अमेरिका असन्तुष्ट रहेको बेला हुन लागेको यस उच्चस्तरीय वार्तालाई महत्वका साथ हेरिएको छ ।

दुवै नेताले दक्षिण एसिया, इन्डो-प्यासिफिक क्षेत्र र विश्वव्यापी मुद्दाहरूमा जारी द्विपक्षीय सहयोगको समीक्षा र विचार आदानप्रदान गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भर्चुअल बैठकमा द्विपक्षीय समग्र विश्वव्यापी रणनीतिक साझेदारीलाई थप सुदृढ गर्ने उद्देश्यका साथ नियमित र उच्चस्तरीय संलग्नता कायम राख्न छलफल हुने बताइएको छ । दुई नेताबीचको भेटवार्ता वासिङ्टनमा हुने भारत–अमेरिका २+२ मन्त्रीस्तरीय वार्ता अघि हुनेछ । टु प्लस टु वार्ताको नेतृत्व रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर र अमेरिकी समकक्षी रक्षा सचिव लोयड अस्टिन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गर्नेछन् ।

बैठकमा युक्रेन मुद्दामा महत्वपूर्ण वार्ता हुनेछ । प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपतिसमक्ष भारतको पक्ष प्रस्तुत गर्ने छन् । युक्रेन मामिलामा भारतको अडानको अमेरिका, युरोपेली संघलगायत धेरै पश्चिमी देशहरूले आलोचना गर्दै आएका छन् ।

भर्खरै भारत भ्रमण गरेका अमेरिकी उपराष्ट्रिय सुरक्षा सल्लाहकार दलीप सिंहले भारतको अडानप्रति निराशा व्यक्त गर्दै चेतावनी समेत दिएका थिए । यदि चीनले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा आक्रामक अडान लियो भने रुस भारतको सहयोगमा नआउने उनले बताएका थिए । संयुक्त राष्ट्रसंघमा रुसविरुद्ध दुईवटा प्रस्तावमा भारतको तटस्थ अडानप्रति अमेरिकाले पनि निराशा व्यक्त गरेको थियो । यसबाहेक भारतलाई रुसबाट तेल र ग्यास आयात बन्द गर्न पनि आग्रह गरेको छ ।

त्यस्तै अमेरिकाले दक्षिण चीन सागरमा चीनको दबाब र स्वतन्त्र आवतजावतलाई प्राथमिकता दिँदै आएको छ । चीनसँगको सीमामा तनावको बीचमा भारत क्वाडको सदस्य भएको थियो । यस मामिलामा अमेरिकालगायत क्वाड देशहरूको भारतको अडान उस्तै रहेको छ । मोदी–बाइडेन भेटमा यो विषयमा पनि छलफल हुने बताइएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us