५०० टन वजन भएको फलामे पुल चोरी
एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ, भारतको एक जिल्लामा फलामको सिङ्गै पुल नै चोरी भएको छ । भारत बिहारको सासाराम जिल्लामा ६० फुट लामो र ५०० टन वजन भएको एउटा फलामको पुल चोरी भएको हो ।
बिहारको अमियावार गाउँमा पर्ने अर्राह नहरमाथि बनेको उक्त पुल खतरनाक घोषणा गरिएपछि प्रयोगमा आउन छाडेको भारतीय अनलाइन द प्रिन्टलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । उक्त पुल सन् १९७२ मा निर्माण गरिएको थियो ।
स्थानीय बासिन्दाहरूले नजिकै बनाइएको पक्की पुल प्रयोग गर्दै आएका थिए। समाचार संस्था पीटीआईका अनुसार आफूलाई सरकारी अधिकारी बताउने केही व्यक्तिहरूले यो चोरी गरेको जनाएको छ । पुल चोरिएपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले त्यसलाई ‘अविश्वसनीय डकैती’ को रुपमा उल्लेख गरेका छन् ।
एएनआईसँग कुरा गर्दै सासारामका प्रहरी उपरीक्षक आशीष भारतीले उजुरी दर्ता गराएर अनुसन्धान थालिएको बताएका छन्।