पोल्याण्ड जाँदै बाइडेन, के युक्रेन पनि पुग्छन्?
अमेरिकी राष्ट्रपति जो बाइडेन आउँदो शुक्रबार पोल्याण्ड जाने भएका छन्। सैन्य गठबन्धन नेटो तथा युरोपियन युनियनका साझेदारसँगको बैठकका लागि बाइडेन पोल्याण्ड जाने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।
पोल्याण्डमा रहँदा उनले त्यहाँका राष्ट्रपति आन्द्रजे दुदासँग वार्सामा भेटवार्ता गर्ने छन्। सो भेटमा युक्रेन युद्धका कारण उत्पन्न संकटमा मानवीय सहायताका सम्बन्धमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
रुसले विनाउक्साहट सुरु गरेको कुनै पनि हिसाबले अनुचित युक्रेन युद्धका कारण उत्पन्न भएको मानवीय संकटमा समाधानका लागि भइरहेका प्रयास र त्यसलाई थप बलियो बनाउनेबारे कुराकानी हुने ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा उल्लेख छ।
अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार युक्रेन युद्धलाई लिएर फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालियन प्रधानमन्त्री मासिओ द्राघी र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग संवाद गर्दै छन्।
बाइडेन बुधबार ब्रसेल्समा हुने नेटो राष्ट्रको सम्मेलनमा सहभागी हुनेछन्। त्यहाँ युरोपियन युनियन र जी सेभेन राष्ट्रका नेताहरुको बैठक हुनेछ र त्यसमा पनि बाइडेन सामेल हुनेछन्।
तर यो यात्राका क्रममा बाइडेन युद्धग्रस्त युक्रेन जाने कुनै योजना भने नरहेको ह्वाइट हाउस प्रवक्ता जेन शाकीले बताएकी छन्।
रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ। युद्धका कारण अहिलेसम्म एक करोड युक्रेनी आन्तरिक वा बाह्य रुपमा विस्थपित भएका छन्। करिब ३५ लाख युक्रेनीले देश छोडेका छन्। देश छोड्नेमध्ये अधिकांशले छिमेकी देश पोल्याण्डमा शरण लिएका छन्।
युक्रेनमाथि गरेको आक्रमणलाई लिएर अमेरिकासहितका पश्चिमा राष्ट्रले रुसमाथि आर्थिकसहितका कडा प्रतिबन्ध लगाएका छन्। सो प्रतिबन्धका कारण रुसको अर्थतन्त्र गम्भीर समस्यामा आएको छ। तर इन्धनसहितका सामग्रीको रुसबाट हुने आयात पश्चिमा देशले बन्द गर्दा विश्वव्यापी रुपमा नै युद्धको प्रभाव अर्थतन्त्रमा देखिएको छ।