पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव दर्ता

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । पाकिस्तानका प्रमुख विपक्षी दलहरूले इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) को नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरिएको पाकिस्तानी न्यूज च्यानल जियो न्यूजले जनाएको छ ।

पाकिस्तानको संविधान अनुसार अविश्वासको प्रस्ताव पारित गर्न साधारण बहुमत चाहिन्छ । पाकिस्तानको नेशनल एसेम्बलीमा ३४२ सदस्य छन्। अर्थात् अविश्वासको प्रस्ताव पारित हुनको लागि त्यसको पक्षमा १७२ मत आवश्यक पर्छ । प्रस्तावलाई १७२ सदस्यको समर्थन प्राप्त भएमा इमरान खानले सत्ता छोड्नु पर्नेछ ।

इमरानको पार्टी पीटीआईको नेशनल एसेम्बलीमा १५५ सिट छ । उनको सरकार गठबन्धनका साझेदारहरूको समर्थनमा चलिरहेको छ । यीमध्ये अधिकांश दल सेनाको नजिक रहेको विश्वास गरिन्छ ।

पाकिस्तान मुस्लिम लिग कायदे-ए-आजम (पीएमएल-क्यू) र मुत्ताहिदा क्वामी मुभमेन्ट इमरान सरकारका प्रमुख सहयोगी हुन् । यी दलहरूले सार्वजनिक रूपमा इमरान सरकारलाई पर्याप्त सहयोग नदिएको आरोप लगाएका छन् ।

तर, यी गठबन्धनहरूले विपक्षीलाई समर्थन गर्ने सन्दर्भमा स्पष्ट संकेत भने नदिएको बताइएको छ । एकातिर उनीहरु इमरानलाई समर्थन फिर्ता नगर्ने आश्वासन दिइरहेका छन् भने अर्कोतर्फ विपक्षी दलको प्रस्तावलाई सकारात्मक संकेत पनि दिइरहेका छन् ।

विपक्षी गठबन्धनसँग १६२ सिट छ भने इमरान सरकार ढाल्न उनीहरुलाई केबल १० सिट आवश्यक छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us