पोखरा र न्युजिल्यान्डको राजधानीको अप्पर हट सिटी बिच भगिनी सम्बन्ध कायम हुने

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

वेलिङ्टन, न्युजिल्यान्ड । पोखरा र न्युजिल्यान्डको अप्पर हट सिटी, वेलिङटन बिच भगिनी सम्बन्धको गतिलाई तीव्रता दिइएको छ । पोखरा महानगरपालिकाका प्रमुख, उपप्रमुख र न्युजिल्याण्ड हट सिटी शहरका मेयर र सरकारी अधिकारीहरुको उपस्थितिमा भर्चुल प्रविधिको माध्यमबाट बैठक सम्पन्न भएको छ । छलफल कार्यक्रममा हट सिटी (वेलिङटन) का मेयर वेन गप्पीले हट सिटीको प्राकृतिक सौन्दर्य, जनसंख्या, शिक्षा, रेल सेवा, व्यवसायका अवसर, अन्तरािष्ट्रय विमानस्थल, यातायातको सुविधा, नौसेना र वायु सेनाको लागि मुख्यालयको सुविधा लगाएतका विषयका बारेमा जानकारी दिएका थिए ।

यसै बीच उक्त छलफल कार्यक्रममा हट सिटी (वेलिङटन_ कै हेलेन स्वेलसले हट सिटी, वेलिङटनमा विभिन्न क्षेत्रमा कला र व्यवसायको अवसर भएको बताउँदै नेपालको पोखरा र हट सिटी (वेलिङटन) बीचको भगिनी सम्बन्धले दुवै शहर बीचमा पर्यटन क्षेत्र, व्यवसाय, सांस्कृतिक लगाएतका क्षेत्रहरुमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले दुई शहर बीचको भगिनी सम्बन्धले आफूलाई धेरै खुशी लागेको बताउँदै भगिनी सम्बन्धले पर्यटन, सामाजिक, धार्मिक, व्यवसाय क्षेत्रमा विकास हुने विश्वास व्यक्त गरे । त्यस्तै, पोखरा महानगरका उप-प्रमुख मञ्जु गुरुङले भगिनी सम्बन्धको प्रसंशा गर्दै लामो समयको निरन्तर छलफल, अन्तरक्रिया पश्चात भगिनी सम्बन्धको प्रकृया अन्तिम स्तरमा आएको बतार्ए । दुई शहरहरू बीचको भगिनी सम्बन्धको सम्झौता चैत्र १५ भित्रै हुने पनि उनले बताइन् ।

पोखराका अशोक सुनारले पोखरा शहरका बारेमा जानकारी गराएका थिए भने प्रभा कोइरालाले दुई शहर बीच बलियो सम्बन्ध हुनेमा विश्वास व्यक्त गरेका थिए । यसैगरी लामो समय देखि पोखरा र न्युजिल्यान्डको राजधानी वेलिङटन बीच भगिनी सम्बन्ध बनाउन प्रयासरत नेपाल र न्युजिल्यान्डमा रहेका व्यक्तिहरूलाई पनि यस छलफल र नजिकिँदो औपचारिक घोषणाले उत्साहित बनाएको छ ।

यस अभियानका सदस्य एवं न्युजिल्यान्डमा बिगत समयदेखि पोखरा तथा नेपालको पर्यटनलाई प्रवर्द्धन गरिरहेका सञ्जय शान्ति सुबेदीको विचारमा यस सुखद खबरले न्युजिल्यान्डमा नेपाललाई पर्यटनको गन्तव्यको रूपमा स्थापित गर्न मात्रै नभएर कुटनीतिक सम्बन्ध पनि सुधार्न भूमिका खेल्ने छ । नेपालको न्युजिल्यान्डसँगको ६ दशक लामो दौत्य सम्बन्धको जगमा नेपालको पर्यटकीय राजधानी र न्युजिल्यान्डको राजधानी शहर बीच घोषणा हुन लागेको औपचारिक भगिनी सम्बन्धको बहुआयामिक प्रभाव रहने सरोकारवालाहरूको राय पनि रहँदै आएको छ।

न्युजिल्याण्डका लागि नेपाल सरकार संस्कृति, पर्यटन एवम् नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डको पर्यटन प्रबर्द्धन दूत एवं भगिनी सम्बन्धको संयोजन गरिरहुनभएका डा. रमिल अधिकारीले उक्त छलफल कार्यक्रम सार्थक एवं ऐतिहासिक भएको जनाएका छन् ।

© 2022 All Right Reserved DiasporaNepal