विश्व बैंकद्वारा युक्रेनलाई ७२३ मिलियन डलरको आर्थिक अनुदान
काठमाडौँ । विश्व बैंकले युक्रेनका लागि ७२३ मिलियन डलर ऋण र अनुदान स्वीकृत गरेको छ । रुसको आक्रमणबाट अस्तव्यस्त बनेको युक्रेनलाई विश्व बैंकले आगामी महिनाहरूमा ३ बिलियन डलर सहयोगको प्याकेज दिने तयारी समेत गरेको जनाएको छ ।
साथै विश्व बैंकले युक्रेनी शरणार्थीहरुको व्यवस्थापन गरिरहेका छिमेकी देशहरुलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । युक्रेनको वित्तीय प्याकेजमा बेलायतबाट १०० मिलियन डलरको प्रतिबद्धता समेत आएको छ ।
विश्व बैंकका अध्यक्ष डेभिड मालपासले भनेका छन्- ‘विश्व बैंक समूहले रुसी आक्रमणबाट उत्पन्न हिंसा र चरम अवरोधको बेला युक्रेन र यसका जनतालाई सहयोग गर्न द्रुत कदम चालेको छ । कोषले युक्रेनको सरकारलाई अस्पतालका कामदारहरूको ज्याला, वृद्धहरूका लागि निवृत्तिभरण र कमजोरहरूका लागि सामाजिक कार्यक्रमहरू सहित महत्वपूर्ण सेवाहरू प्रदान गर्न मद्दत गर्नेछ ।’
प्याकेजमा नेदरल्यान्ड्स र स्वीडेनबाट ग्यारेन्टीहरू मार्फत ३५० मिलियन ऋण पनि समावेश गरिएको छ ।
साथै बेलायत, डेनमार्क, लाटभिया, लिथुआनिया र आइसल्याण्डबाट अनुदानमा १३४ मिलियन डलर तथा जापानबाट १०० मिलियन डलरको वित्तपोषण कोष बनाइएको छ ।