रुसको निशानामा अस्पताल, विद्यालय र आवासीय क्षेत्र
रुसले सर्वसाधारणलाई निशाना बनाएर हवाई, रेकटसहितका आक्रमण गरिरहेको युक्रेनले बताएको छ। युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्तेफानिशिनाका अनुसार रुसले अस्पताल, प्राथमिक शिक्षा केन्द्र तथा विद्यालयहरुसहितलाई निशाना बनाएको हो ।
बिसीसँगको अन्तर्वार्ताको क्रममा उनले रुसले लगातार सर्वसाधारण, आवासीय क्षेत्र र सार्वजनिक स्थानमा आक्रमण गरे पनि युक्रेनी आर्मीले कडा प्रतिवाद गरिरहेको बताइन् । उनले भनिन्, ‘रुसले सर्वसाधारणलाई विभाजित गर्न गम्भीर निशाना बनाइरहेको छ ।’
रुसले गरेको गोलाबारीका कारण आइतबार एक परिवारका चारजनाको मृत्यु भयो । युद्ध जारीरहेको इर्पिनबाट सुरक्षित स्थानमा जाने क्रममा उनीहरुको मृत्यु भएको हो ।
रुसकै आक्रमणका कारण तटीय शहर मारिपोलमा उद्धारको काम रोकिएको छ । सो शहर विगत पाँच दिनदेखि पानी, बिजुली तथा सरसफाइका सेवा बिहीन छ । खानेकुरा र पिउने पानीको पनि अभाव रहेको छ ।
आइतबार संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगले दिएको जानकारी अनुसार रुसको आक्रमणका कारण कम्तीमा २६४ सर्वसाधारणको मृत्यु भएको छ । यस्तै कम्तीमा १५ लाख युक्रेनीले देश छोडिसकेका छन् ।
लगातार सर्वसाधारण निशानामा आएर उनीहरु मारिँदा पनि रुसले आफूले सैनिकहरुलाई मात्र आक्रमण गरेको दाबी गर्दै आएको छ । रुसले आतंकी गतिविधि गरिरहेको र स्थल तथा आकाशबाट आतंककारी आक्रमण गरिरहेको उपप्रधानमन्त्री स्तेफानिशिनाले बताएकी छन् ।
सर्वसाधारणले रुसी आतंकको अर्को चरण पछिल्ला दिनमा सामना गरिरहेको बताइन्। उनले रुसले ठूलो मात्रामा सैन्य क्षति बेहोर्नु परेको पनि दाबी गरिन् । तर रुसले आफ्नो तर्फ भएको सैन्य हताहतीको कुनै जानकारी दिएको छैन ।