११ दिनमा युक्रेन आक्रमणको विरोध गर्ने ८ हजार रुसी नागरिक समातिए
रुसमा युक्रेन हमलाबिरुद्ध प्रदर्शन गर्ने ६ सयभन्दा बढी प्रदर्शनकारीहरुलाई २१ शहरहरूबाट गिरफ्तार गरिएको छ।
(ओभीडी–इनफो) ले ११ दिन अघि युक्रेनमा युद्ध सुरु भएदेखि रुसमा कम्तिमा ८,००० प्रदर्शनकारीहरूलाई हिरासतमा लिइएको वा गिरफ्तार गरिएको बताएको छ। रुसमा सरकार विरोधी प्रदर्शनमा सामूहिक नजरबन्दी सामान्य भएको छ।
शनिबार युक्रेनमा रुसले गरेको आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शनको एक दिनपछि आइतबारको विरोध प्रदर्शन भएको हो।
यसैबीच रुसी अधिकारीहरूले बीबीसी लगायत धेरै मिडिया आउटलेटहरूमा पहुँच प्रतिबन्ध लगाएका छन्। टेलिभिजन समाचार च्यानल बीबीसी वर्ल्ड न्यूज पनि रुसमा बन्द गरिएको छ।
युक्रेनमा रुसको आक्रमणपछि युक्रेन छाडेर छिमेकी देशहरुमा शरण लिनेहरुको ख्या पनि १५ लाख नाघेको छ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीका अनुसार पछिल्लो १० दिनमा १५ लाखभन्दा बढी मानिस सीमा पार गरी छिमेकी मुलुकमा पुगेका छन्।
उता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा रुसको ‘भयानक’ आक्रमणलाई विफल पार्न नयाँ कदम चालिनुपर्ने बताएका छन्। जोन्सनले रुसी राष्ट्रपति पुटिनलाई रोक्न रुसमाथि आर्थिक दबाब बढाउनुपर्ने, नेटो देशहरूबीच सुरक्षा सहयोग सुदृढ गर्ने प्रयास हुनुपर्ने लगायत योजना बनाएका छन्।