बेनेट र पुटिनबीच मस्कोमा भेटवार्ता, रुस-युक्रेन द्वन्द बारे छलफल
काठमाडौँ । रुस र युक्रेनबीच द्वन्द्वका बीच इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । उनी शनिबार रुसको राजधानी मस्को पुगेका थिए ।
इजरायली प्रधानमन्त्रीले यस भ्रमणका लागि शब्बात (यहूदीहरूका अनुसार विश्रामको दिन) तोडेको तथ्यबाट यो भेटको महत्त्वको अनुमान लगाउन सकिन्छ । यहूदी कानून अन्तर्गत, यो जीवनलाई खतराको अवस्थामा मात्र तोड्न सकिन्छ ।
बेनेटको यो भेटको बारेमा अहिलेसम्म धेरै जानकारी दिइएको छैन । तर, दुई नेताबीच करिब तीन घण्टा वार्ता भएको बताइएको छ ।
बेनेट र पुटिनले यसअघि पनि धेरै पटक भेट गरिसकेका छन् र दुई देशबीच राम्रो सम्बन्ध रहेको बताइएको छ । इजरायल अमेरिकाको महत्वपूर्ण सहयोगी भए पनि प्रधानमन्त्री बेनेटको रुससँग पनि राम्रो सम्बन्ध छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, जो आफै यहूदी हुन्, इजरायलका प्रधानमन्त्रीलाई यस मामिलामा मध्यस्थता गर्न अपील गरेपछि उनी मस्को पुगेका हुन् ।
प्रधानमन्त्री बेनेटको साथमा इजरायली नेताहरूसँग लामो समय रूसी भाषा अनुवादकको रूपमा काम गरेका आवास मन्त्री जिभ एल्किन पनि थिए । उनी युक्रेनी शहर खार्किभमा जन्म,इयेका थिए र उनका आफन्तहरू अझै पनि युक्रेनमा बस्छन् ।
यो भेटपछि नाफ्ताली बेनेट जर्मनीको भ्रमणमा गएका छन् । जर्मनीमा उनले चान्सलर ओलाफ स्कोल्जलाई भेट्ने कार्यक्रम छ ।