करिब ३ हजार अमेरिकीले देखाए युक्रेनमा रुसविरुद्ध लड्ने इच्छा !
काठमाडौँ । करिब तीन हजार अमेरिकीले युक्रेनमा रुसविरुद्ध लड्न स्वयंसेवक बन्ने इच्छा व्यक्त गरेका छन् । वाशिंगटन डीसीमा युक्रेन दूतावासका एक प्रतिनिधिले समाचार सेवा भ्वाइस अफ अमेरिकालाई अहिले सम्म ३००० अमेरिकीले रुसविरुद्ध लड्न युक्रेन जाने इच्छा व्यक्त गरेको जानकारी दिएका हुन् ।
ति प्रतिनिधिका अनुसार करिब तीन हजार अमेरिकीहरूले रुसी आक्रमणविरुद्ध युक्रेनको अपीललाई दुताबासमा प्रतिक्रिया दिएका छन् ।
युक्रेनले बारम्बार माग गरे पनि पश्चिमी देशहरूले युक्रेनमा आफ्ना सेना पठाइरहेका छैनन् । तर, यी देशहरूले रुसी सेनासँग लड्न युक्रेनलाई हतियार दिइरहेका छन् ।
यसबाहेक पश्चिमा राष्ट्रहरूले रुस र यसका केही प्रमुख व्यापारीमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूले रुसलाई लड्न विदेशी स्वयंसेवकहरूको ुअन्तर्राष्ट्रिय सेनाु बनाउन आग्रह गरेका छन् ।
केही दिनअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई लडाइँमा मद्दत गर्न करिब १६ हजार विदेशी स्वयंसेवक युक्रेन आएको बताएका थिए । त्यस्तै विदेशमा रहेका ६६ हजार युक्रेनी अहिलेसम्म रुसविरुद्ध लड्न स्वदेश फर्किएको युक्रेनी सरकारले शनिबार जानकारी दिएको छ ।