जोपोरजिया न्युक्लियर प्लान्ट आक्रमणले ६ वटा चेर्नोबिलबराबर विनाश भएको खतरा: जेलेन्स्की
युक्रेनको जोपोरजिया आणविक प्लान्ट रुसले कब्जा गरेपछि संसारभरि नै यसबारे चासो र चिन्ता प्रकट गरिएको छ। युरोपकै सबैभन्दा ठूलो परमाणु पावर प्लान्ट ‘जोपोरजिया’मा शुक्रबार बिहान आगलागी भएको थियो । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले यूक्रेनमा रूसको हमला र जोपोरजिया न्युक्लियर प्लान्टको कब्जा गरेकोमा निन्दा गरेका छन् .
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले जोपोरजिया न्युक्लियर प्लान्टमा रुसी आक्रमणले “छ वटा चेर्नोबिल’’ बराबरको विनाश निम्त्याएको हुनसक्ने बताएका छन्।
रुसी जनतालाई सम्बोधन गर्दै उनले भने- ‘यो कसरी सम्भव छ? के हामीले सन् १९८६ मा चेर्नोबिल प्रकोपको नतिजा विरुद्ध लडेनौँ र?’
बिहीबार मात्रै चेर्नोबिलमा रुसी हवाई आक्रमणमा ४७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले युक्रेनको जापोरिजिया आणविक उर्जा केन्द्रमा रूसी आक्रमणको बारेमा भनेका छन्, ‘रातारात प्लान्ट साइट भित्रको एक भवनमा प्रक्षेपणले प्रहार गर्यो । स्थानीय दमकलले उक्त क्षेत्रको आगो निभाएको थियो। प्लान्टका सबै सुरक्षा प्रणालीहरू भने प्रभावित भएनन् । रेडियसनको स्तर पनि बढेको थिएन ।’
यसअघि अमेरिकाकी ऊर्जामन्त्री जेनिफर ग्रानहोल्मले रुसी सैन्य अभियानले धेरै गलत कदम चालेको बताउँदै यसको छिट्टै अन्त्य आवश्यक रहेको बताएकी थिइन् ।
यसैबीच रुसी संसदको तल्लो सदनले सशस्त्र बलको बारेमा “नक्कली’’ सूचना फैलाउनेलाई जेल सजाय हुन सक्ने कानुन सर्वसम्मतिले पारित गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्ययका अनुसार कुल ४०१ सांसदले विधेयकको पक्षमा मतदान गरेका छन् भने कोही सांसदले यसको विपक्षमा मतदान गरेका थिएनन्। अब यो ऐनलाई माथिल्लो सदनबाट अनुमोदन आवश्यक पर्नेछ।