युक्रेनमा जारी रक्तपात तुरुन्त बन्द गर्न पुटिनसँग अमेरिकाको माग

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी रक्तपात तुरुन्त बन्द गर्न माग गरेको छ । अमेरिकी विदेश मन्त्रालयले स्थानीय समय अनुसार बुधबार अबेर वक्तव्य जारी गरेर युक्रेनको भूमिबाट आफ्ना सैनिक फिर्ता लगेर जारी रक्तपात रोक्न पुटिनसँग माग गरेको हो ।

रुसले स्वतन्त्र सञ्चारमाध्यमहरुलाई रोकेर प्रेस स्वतन्त्रतामाथि पनि आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ । रुसले अधिकांश सञ्चारमाध्यमलाई युक्रेनमाथि भइरहेको आक्रमणबारेका खबर प्रकाशित गर्न दिएको छैन ।

ट्वीटर, फेसबुक, इन्स्टाग्रामसहितका सामाजिक सञ्जाल सञ्चालन हुने गरी इन्टरनेट सुविधा नदिँदा सर्वसाधारण स्वतन्त्र सूचना तथा सम्पर्कबाट वञ्चित भएको पनि वक्तव्यमा उल्लेख छ ।

रुसले युक्रेनको राजधानी किएभसहितका प्रमुख शहरमा आक्रमण थप तीव्र पार्दै गएका बेला अमेरिकाको वक्तव्य आएको हो । रुसी आक्रमणका कारण सर्वसाधारणको मृत्यु भइरहेको छ । एक हप्ता भित्रै १० लाख भन्दा बढी युक्रेनी देश छोडेर छिमेकी देशहरुमा शरण लिन पुगेका छन् ।

यसैबीच किएभमा बिहीबार बिहानै कम्तीमा चारवटा ठूला बिस्फोट भएका छन् । ती आक्रमणको निशाना तथा कति मानिस मारिए वा घाइते भए भन्नेबारे केही खुलेको छैन ।

युक्रेनमाथि भइरहेको आक्रमणको विरोधमा विश्वका विभिन्न क्षेत्रसँगै रुसमै पनि प्रदर्शन हुँदै आएको छ । रुसी सुरक्षाकर्मीले प्रदर्शनकारीलाई पक्राउ गरे पनि दैनिक प्रदर्शन भने रोकिएको छैन ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us