युक्रेनमा हवाई उडान बन्द, नेपालीहरु किभमा अलपत्र
आफ्नो मुलुकमाथि रुसले सैन्य आक्रमण गरेपछि युक्रेनले देशको हवाई क्षेत्र बन्द गरेको छ। उडान बन्द भएसँगै युक्रेनमा अलपत्र परेका नेपाली विद्यार्थीहरु तथा नागरिकहरु त्यहाँ अलपत्र परेका छन्।
सुरक्षाको कारण देखाउँदै युक्रेन सरकारले बिहीबार बिहानदेखि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । युक्रेन जाने र आउने सबै उडानहरू कम्तीमा अर्को १४ दिनका लागि रद्द गरिएको बताइएको छ ।
यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका थिए। रुसी आक्रमणमा कम्तीमा सात युक्रेनीको ज्यान गुमिसकेको छ भने युक्रेनले पनि जवाफी हमला गरिरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
युक्रेनका विभिन्न ठाउँमा बिस्फोट भएका छन्। राजधानी किभमा पनि बिस्फोट भएको बिबिसीले जनाएको छ। बम बिस्फोट हुन थालेपछि सहरहरुका पेट्रोल स्टेशन तथा एटिएममा मानिसहरुको लामो लाइनहरु देखिन थालेका छन् ।