प्रतिबन्धको घोषणा गर्दै बाइडेनले भने- रुस अगाडी बढेमा अमेरिकाले पाठ सिकाउने छ
काठमाडौँ । युक्रेन संकट अब गम्भीर मोडमा पुगेको छ । रुसले युक्रेनका दुई प्रान्त लुहान्स्क र डोनेस्कलाई छुट्टै राष्ट्रको दर्जा दिने घोषणा गरेपछि अमेरिकासहितका देशहरुले यसको विरोध गर्दै रुसमाथि विभिन्न प्रतिबन्धको घोषणा गरेका छन् ।
रुसको कारबाहीमा अमेरिकाले कडा कदम चालेको छ । आफ्नो ह्वाइट हाउस सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको निन्दा र यसका दुई वित्तीय संस्थामाथि प्रतिबन्ध लगाएका छन् । यससँगै रुसलाई पश्चिमी मुलुकबाट दिने सहयोगमा पनि प्रतिबन्ध लगाइएको छ । अमेरिकाले रुसका छिमेकी देशहरूमा पनि सैन्य तैनाथी बढाइरहेको छ ।
पुटिनको आक्रामक नीतिको निन्दा गर्दै बाइडेनले भने- ‘सोमबार राति के भयो सारा संसारले देख्यो । यो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो । हामी हाम्रा साझेदारहरूसँग सम्पर्कमा छौं । यसमा हामी गम्भीर भएर सोचिरहेका छौँ । नेटो बाहेक विश्वका धेरै देशहरूसँग हामीले वार्ता गरेका छौं । अमेरिका र उसका सहयोगीहरूले स्थितिलाई नजिकबाट नियालिरहेका छन् । रुसमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाउने विषयमा विचार गर्दै छौं । रूसको अर्को कदममा हाम्रो नजर छ ।’
बाइडेनले यो युक्रेनमा रुसको प्रत्यक्ष घुसपैठ हो भन्दै आफुहरुले अवस्थाको समीक्षा गरिरहेको बताए ।
उनले भने- ‘मैले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग धेरै पटक कुरा गरेको छु । मलाई अझै पनि लाग्छ कि कुरा गर्नु बाहेक अर्को विकल्प छैन । युद्ध कुनै पनि समस्याको समाधान होइन । हामीले दुई रूसी वित्तीय संस्थाहरू भेब र रूसी सैन्य बैंकविरुद्ध प्रतिबन्ध लगाएका छौं । यसलाई प्रतिबन्धको पहिलो किस्ताको रूपमा लिनुपर्छ । यदि रुस अझै अगाडि बढ्यो भने अमेरिकामा उसलाई पाठ सिकाउने पर्याप्त शक्ति छ ।’
अमेरिकी राष्ट्रपतिले भने- ‘पुटिनलाई आफ्नो छिमेकी मुलुकको भूभागमा नयाँ राष्ट्र घोषणा गर्ने अधिकार कसले दियो ? यो अन्तर्राष्ट्रिय कानुनको घोर उल्लङ्घन हो । नर्ड स्ट्रिम २ पाइपलाइन परियोजनाले प्रगति हुन नदिने अमेरिकी पक्षबाट स्पष्ट पारिएको छ । यसका लागि अमेरिकाले जर्मनीसँग मिलेर काम गरिरहेको छ । यदि रुसले आफ्नो आक्रामक रणनीतिलाई निरन्तरता दियो भने उसलाई थप कडा प्रतिबन्ध लगाइनेछ । अमेरिकाले इस्टोनिया, लाटभिया र लिथुआनियामा आफ्नो सैन्य तैनाथी बढाउनेछ ।’
अमेरिकाले रुसका छिमेकी मुलुकमा सैन्य तैनाथी बढाउने भएको छ । बाल्टिक देशहरूमा अमेरिकी सेनाको तैनाथी बढाउने निर्णयमा बाइडेनले भने- ‘म यो स्पष्ट गर्न चाहन्छु कि यी कदमहरू रक्षात्मक उपायका रूपमा हाम्रो तर्फबाट उठाइएका छन् ।’
रुससँग लड्ने अमेरिकाको मनसाय नभएको बताउदै बाइडेनले संयुक्त राज्य अमेरिकाले नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्ने र प्रतिबद्धताहरू पूर्ण रूपमा पालन गर्ने बताएका छन् ।
पुटिनले पूरै देश कब्जा गर्ने संघर्षको नेतृत्व गरिरहेको आरोप लगाउदै बाइडेनले यस कदमबाट हजारौं मानिस मारिन सक्ने चेतावनी दिएका छन् ।