दक्षिणपूर्वी युक्रेनमा रुसी सैनिक तैनाथ, रुसद्वारा बिद्रोहीलाई औपचारिक साथ
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकलाई रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा प्रवेश गर्न आदेश दिएका छन् । उनले रुसको साथ पाएका बिद्रोहीहरुको नियन्त्रणमा रहेको क्षेत्रको सार्वभौमिकता घोषणा गर्दै आफ्ना सैनिकलाई प्रवेश गर्न आदेश दिएका हुन् ।
पुटिनले रुसी सैनिकले दक्षिणपूर्वी युक्रेनमा ‘शान्तिस्थापना’ को काम गर्ने दाबी गरेका छन् । पुटिनको आदेशलाई जारी युक्रेन संकट बढाउन सहयोग गरेको ठानिएको छ । पश्चिमा राष्ट्रहरुले रुसमाथि कडा प्रतिबन्ध लगाउने तयारी गरेका छन् । यस्तै युक्रेनी सैनिकले जवाफी कारवाही गर्ने सम्भावना पनि छ । रुसी राष्ट्रपतिले दक्षिणपूर्वी युक्रेनमा बिखण्डनकारी समूहका नेताहरुसँग मंगलबार सन्धिमा हस्ताक्षर गरेका हुन् ।
सन्धिको तेस्रो बुँदामा दक्षिणपूर्वी युक्रेनमा रुसी आर्मीलाई ‘शान्ति स्थापना’ को जिम्मेवारी दिने उल्लेख छ । युक्रेनी बिद्रोही र रुसी राष्ट्रपतिले गरेको सन्धिनमा दक्षिणपूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई ‘लुहान्स्क एण्ड डोनेट्स्क पिपुल्स रिपब्लिक’ भनिएको छ ।
रुसले बिद्रोहीको दाबी स्वीकार गरेर सो क्षेत्रलाई छुट्टै सार्वभौम क्षेत्र मानेको छ । तर युक्रेन र अधिकांश विश्वले सो क्षेत्रलाई युक्रेनको सार्वभौम क्षेत्र मान्दै आएको छ ।
सोमबार युक्रेनी अधिकारीले रुसी सैनिक बिद्रोही इलाकामा प्रवेश गरिसकेको हुन सक्ने बताएका थिए । स्थानीय बासिन्दाले डोनेट्स्कमा रुसी सैनिकका सवारी साधान चलेको देखेका थिए ।
रुसले बिद्रोहीलाई स्वीकार गरी आफ्ना सैनिक तैनाथ गर्ने आदेश दिएपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टेलिभिजन मार्फत सम्बोधन गरेर कडा निन्दा गरेका छन् ।
रुसले शान्ति वार्ता कमजोर बनाएको बताएका छन् । उनले रुसले दक्षिणपूर्वी युक्रेनको बिद्रोही नियन्त्रित क्षेत्रलाई दिएको मान्यता खारेज गरेका छन् ।
युक्रेन शान्ति तथा कूटनीतिमा प्रतिबद्ध रहेको उनले बताएका छन् । यस्तै उनले आफ्ना सहयोगीबाट स्पष्ट र प्रभावकारी कदमको अपेक्षा गरिएको बताए । उनले आफूहरु नडराएको पनि बताएका छन् ।