भारतीय बैंकबाट २२ हजार करोडभन्दा बढीको ठूलो ठगी !
काठमाडौँ । भारतमा बैंकहरुलाई ठुलो रकम ठगी गरेको विषय निकै चर्चामा छन् । यस अघि उद्योगपति विजय माल्याले ९९०० करोड लिएर विदेश भागे भने कहिले नीरव मोदी र उनका काका मेहुल चोक्सीको जोडीले पीएनबी बैंकलाई करिब १३ हजार करोडको ठगी गरे। विजय माल्या, नीरव मोदी र मेहुल चोक्सी तीनैले बैंकहरूलाई कम्तिमा २३ हजार करोडको ठगी गरेको विषय टुंगोमा नपुग्दै भारतमा अर्को ठगी थपिएको छ, जसलाई देशकै सबैभन्दा ठूलो बैंक ठगी भनिएको छ ।
भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले एबीजी शिपयार्ड लिमिटेडलाई २८ बैंकसँग २२ हजार ८४२ करोड भारतीय रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दायर गरेको छ । यी बैंकहरूको प्रमुख रहेको स्टेट बैंक अफ इन्डियाले यस सम्बन्धमा उजुरी दिएको थियो ।
कम्पनीका अध्यक्ष ऋषि अग्रवाल, कार्यकारी निर्देशक सन्थानम मुथुस्वामी र निर्देशक अश्विनी कुमार, सुशील कुमार अग्रवाल र रवि विमल र अर्को कम्पनी एबीजी इन्टरनेशनल प्राइभेट लिमिटेडलाई पनि अभियोग लगाइएको छ ।
उनीहरूलाई आईपीसी र भ्रष्टाचार निवारण ऐन अन्तर्गत आपराधिक षड्यन्त्र, धोखाधडी, विश्वासको आपराधिक उल्लंघन र आधिकारिक पदको दुरुपयोगको आरोप लगाइएको छ ।
एबीजी शिपयार्ड लिमिटेड जहाज मर्मत र निर्माण व्यवसायमा संलग्न एबीजी समूहको कम्पनी हो । यसको शिपयार्ड अर्थात् जहाज मर्मत गर्ने ठाउँ गुजरातमा छ ।
स्टेट बैंक अफ इन्डियाले नोभेम्बर ८, २०१९ मा उजुरी दायर गरेको थियो, जसमा सीबीआईले मार्च १२, २०२० मा स्पष्टीकरण मागेको थियो ।
बैंकले सोही वर्षको अगस्टमा फेरि उजुरी दर्ता गरायो । डेढ वर्षभन्दा बढी “अनुसन्धान” पछि, सीबीआईले फेब्रुअरी ७, २०२२ मा दर्ता भएको एफआइआरमा कारबाही गरेको हो ।
सीबीआईले कम्पनीलाई एसबीआईका साथै २८ बैंक तथा वित्तीय संस्थाबाट २४६८.५१ करोड रुपैयाँ ऋण दिएको बताएको छ ।
एफआइआरका अनुसार फरेन्सिक लेखापरीक्षणले २०१२–१७ को बीचमा अभियुक्तले मिलेमतोमा रकम हिनामिना लगायतका गैरकानूनी गतिविधि गरेको खुलासा गरेको छ ।
यसलाई सीबीआईले दर्ता गरेको सबैभन्दा ठूलो बैंक ठगी मुद्दा मानिएको छ । बैंकले जुन प्रयोजनका लागि रकम निकासा गरेको थियो, त्यो बाहेक अन्य प्रयोजनमा पनि प्रयोग भएको एफआईआरमा उल्लेख छ ।
सीबीआई एफआईआर अनुसार, फर्मसँग आईसीआईसीआई ७०८९ करोड, आईडीबीआई बैंक ३६३४ करोड, एसबीआई २९२५ करोड, बैंक अफ बरोरा १६१४ करोड र पीएनबी र इन्डियन ओभरसीज बैंक १२०० करोड भन्दा बढी ऋण रहेको छ ।