४८ घन्टादेखि फँसेका युवाको उद्दारमा ड्रोनदेखि सेनासम्म
नयाँ दिल्ली । भारतीय सेनाका आरोहीहरुले खाना र पानीबिना झन्डै ४८ घन्टादेखि एउटा पहाडको दरारभित्र फँसेका एक पैदलयात्रीको उद्दार गरेका छन् । दक्षिणी राज्य केरलाको एउटा भिरालो चट्टानयुक्त पहाडमा बिचल्लीमा परेका युवाको सेनाले उद्दार गरेको हो ।
तीन जना साथीहरुसँगै पदयात्रा गर्ने क्रममा २३ वर्षीय आर बाबु चिप्लिएर भिरको दरारमा फसेका थिए । यसअघि तीन ओटा विभिन्न उद्दार समूह उनी भएको ठाउँमा पुग्न नसकेर फर्किएको थियो । बुधबार बिहान, भारतीय सेन अन्ततः उनीसँगको सम्पर्कमा पुगेको थियो ।
केरलाको पलाककाद जिल्लाको एक हजार फिट अग्लो कुरुमबाची पहाड भिरालो भूभागका लागि प्रख्यात छ । यसअघि सो राज्यको वन विभागले पैदलयात्रीलाई चुचुरोमा हाइकिङ नगर्न चेतावनी दिएको थियो ।
पहाडबाट खसेपछि उनी एउटा साँघुरो ठाउँमा फसेका थिए । लट्टी र डोरी प्रयोग गरेर उनलाई तान्न नसकेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । आफू भएको स्थानबारे जानाकारी दिन र सहयोगको याचना गर्दै बाबुले आफू फँसेको क्षेत्रको फोटो र सेल्फी पठाएका थिए ।
उद्दार कार्य बढाएपछि उनी फसेको चुचुरोमा ड्रोन प्रयोग गरिएको थियो । उनलाई उद्दार गर्न मंगलबार तट रक्षकको हेलिकोप्टरले गरेको प्रयास बिफल भएको थियो । उद्दारकर्ताहरुले उनलाई खानेकुरा र पानी दिनसमेत सकेका थिएनन् ।
हिन्दुस्तान टाइम्सका अनुसार जंगली जनावरले आक्रमण गर्न सक्ने आशंकामा मंगलबार राति उनी फसेको क्षेत्र नजिकै आगो बालिएको थियो । मुख्य मन्त्रीको अनुरोधपछि भारतीय सेनाको एउटा समूह उद्दारका लागि परिचालन गरिएको थियो ।