चीनले बनाएर सक्यो पांगोङ तालमा पुल, भारतलाई कैलाश रेन्जमा अब गाह्रो
चीनले पूर्वी लद्दाख सीमा नजिक निर्माण गतिविधि बढाएको छ । भारतसँग सीमाविवाद चलिरहेको बेलामा सैन्य वार्तासँगै उसले निर्माणको काम पनि अघि बढाएको हो । सीमामा रहेको पांगोङ ताल नजिक चीनले गरेको पुल निर्माणको काम लगभग पूरा भएको बताइएको छ । गलवान क्षेत्रमा पनि उसले सडक र पुल बनाएको छ ।
युरोपेली अन्तरिक्ष निकायले भूउपग्रहबाट खिचेको तस्वीरमा पुल निर्माणको काम सम्पन्न हुन लागेको देखिएको हो । नयाँ तस्वीरमा चीनले तालको उत्तरी र दक्षिणी तट जोड्नका लागि पुलको निर्माण कार्य जाडोमा बढाएको देखिन्छ । यो पुल भारतले दाबी गरेको सीमारेखाबाट एकदमै नजिक छ र चीनको नियन्त्रणमा रहेको भागमै बनाइएको हो ।
चीनले तालको उत्तरी भागमा निर्माण कार्य शुरू गरेको गत सेप्टेम्बर महिनामा नै हो । अब पुल दक्षिणी तटबाट केही मिटर मात्र पर छ र लगभग पूरा हुन लागेको छ ।
भूउपग्रहीय तस्वीरमा देखाएअनुसार, चीनले तयार पारेको पुल लगभग ३१५ मिटर लामो छ । यसले तालको दक्षिणी किनारलाई उत्तरी किनारमा बनाइएको सडकसँग जोड्छ । तस्वीरमा चिनियाँ यन्त्र र निर्माण संसाधन पनि देखिन्छन् ।
भारतलाई पांगोङ तालसँगै रहेको कैलाश रेन्जको चुचुरोमा पुनः कब्जा गर्न नदिनका लागि चीनले यो पुल बनाएको हो । पोहोर साल भारतीय सेनाले कैलाश रेन्जको चुचुरोमा कब्जा गरेको भए पनि भारत चीन वार्तापछि भारतीयहरू चुचुरोबाट हटेका थिए ।