बिहारका ८४ बर्षिय मण्डलको कोरोनाको ११ डोज खोप लगाएको दाबी
काठमाडौँ । भारतको बिहारको मधेपुरा जिल्लामा एक व्यक्तिले आफूले कोरोना भ्याक्सिनको ११ डोज लिएको दाबी गरेका छन् ।
विहारको पुरैनीका ८४ वर्षीय ब्रह्मदेव मण्डलले खोप लगाउन थालेदेखि कहिल्यै बिरामी नपरेको र स्वास्थ्यमा सुधार आएको दाबी गरेको भारतीय समाचार एजेन्सी एएनआइले उल्लेख गरेको छ ।
यता, मधेपुराका सिभिल सर्जन डा. अमरेन्द्र प्रताप शाहीले उनको दाबी साँचो हो वा झुटो त्यो छानबिनको विषय भएको बताएछन् । अस्पतालको अभिलेख जाँच्ने र आफ्नो दाबी सत्य पाइएमा जिम्मेवार व्यक्तिलाई कारबाही गरिने उनले बताए ।
अहिले भारतमा कोरोनाको तेस्रो लहर चलिरहेको छ र विहिबार मात्र भारतमा ९० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।