फेरी लकडाउनतर्फ दिल्ली !
काठमाडौँ । भारतको राजधानी दिल्ली फेरी लकडाउनतर्फ जाने देखिएको छ । कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्दै गएको देखिएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले नयाँ प्रतिबन्धका घोषणा गर्दै दिल्ली फेरी लकडाउनतर्फ जाने संकेत दिएका हुन् । यद्यपी मंगलबार नयाँ प्रतिबन्धको घोषणा गर्दै मुख्यमन्त्री केजरिवालले दिल्लीमा कोरोना संक्रमितको संख्या बढेको तर आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
मुख्यमन्त्री केजरिवालले दिल्लीका सिनेमा हल र जिम बन्द गर्न आदेश दिएको बताएका छन् भने शपिङ मल र पसल जोर बिजोरका आधारमा खुल्ने घोषणा गरेका छन् । पसल बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म खुला रहनेछन् भने दिल्ली मेट्रो, रेस्टुरेन्ट र बारहरूमा उनीहरूको क्षमताको ५० प्रतिशत मानिसहरूलाई मात्र अनुमति दिइने उनले बताए ।
दिल्ली सरकारले तत्काल लागुहुने गरि घोषणा गरेका प्रतिबन्धहरू:
१) सिनेमा हल, स्पा, जिम, मल्टिप्लेक्स, बैंक्वेट हल, अडिटोरियम र खेलकुद परिसर बन्द ।
२) राती कर्फ्यू – बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म ।
३) दिल्ली मेट्रो, रेस्टुरेन्ट र आफ्नो क्षमताका बारहरूमा ५० प्रतिशत मानिसहरूलाई मात्र अनुमति ।
४) विद्यालय र कलेजहरु बन्द ।
५) विवाहमा २० जना मात्र सहभागी हुन पाउने ।
मुख्यमन्त्री केजरीवालले अधिकांश अवस्थामा अस्पताल जानु नपर्ने, अक्सिजनको पनि आवश्यकता नपर्ने र भेन्टिलेटर पनि नचाहिने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले मास्क लगाएर बस्न र बजारमा भीड नगर्न अनुरोध गरेका छन् ।
केजरिवालले यस पटक दिल्ली सरकार कोरोनासँग लड्न १० गुणा राम्रो तयार भएको बताउदै दिल्लीमा ग्रेडेड रेस्पोन्स एक्शन प्लान लागू भइरहेको बताए । दिल्लीमा अहिले ३३० भन्दा बढी ओमिक्रोन संक्रमित रहेको बताइएको छ ।