बिहारको एक उद्योगमा विष्फोट हुँदा ६ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको बिहार राज्यमा पर्ने मुजफ्फरपुर जिल्लाको औधोगिक क्षेत्रमा रहेको नुडल्स उत्पादन गर्ने उद्योगमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर करिब एक दर्जन घाइते भएका छन् ।
मुजफ्फरपुर जिल्लाका मजिष्ट्रेट प्रणव कुमारले उद्योगको बोइलर अचानक विष्फोट भएको जानकारी दिए । बोइलर विष्फोटको धमाका निकै ठूलो भएको स्थानीयले बताएका छन् । उद्योगभन्दा एक किलोमिटर टाढासम्म विष्फोटको आवाज सुनिएको थियो ।
विष्फोट विहान करिब साँढे १० बजे भएको भारतीय संचारमाध्यमले जनाएका छन् । विष्फोट हुँदा भएको कम्पनलाई कतिपयले भूकम्प भन्ठानेर घर बाहिर निस्किएका थिए । बिहारका मुख्यमन्त्री नितिश कुमारले विष्फोट घटनाबारे गम्भीर जाँच गर्ने निर्देशन दिँदै यो घटनामा जिम्मेवारमाथि कडा कारबाही गरिने बताएका छन् । उनले विष्फोटमा परेर निधन हुनेका परिवारलाई तत्कालै जनही भारु ४ लाख रुपैयाँ अनुदान दिन निर्देशन दिएका छन् ।