चीनमा एनआरएनएको ११औँ एसिया प्यासिफिक सम्मेलन हुँदै, सम्पूर्ण तयारी पूरा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ (Aarohan 2026 – Rising Together, Leading Forward) आगामी साउन ३० देखि भदौ १ गतेसम्म (१५-१७ अगस्ट २०२६) चीनको ग्वांगजौ स्थित क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर होटलमा आयोजना हुने भएको छ। “हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ” भन्ने मुख्य ध्येयका साथ एनआरएनए, ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजक समिति र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनको मुख्य आयोजनामा हुन लागेको यस सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।
साउन ३० गते (१५ अगस्ट) हुने उद्घाटन समारोहको अध्यक्षता एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कंडेलले गर्नेछन् भने प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी हुनेछन्। समारोहमा विभिन्न राजनीतिक दलका सचेतक, सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा एनआरएनए का संस्थापक एवं अग्रज नेतृत्वहरूको विशेष उपस्थिति रहनेछ।
साउन ३१ गते (१६ अगस्ट) सञ्चालन हुने विभिन्न विषयगत सत्रहरूमा नेपाल र एसिया प्यासिफिक क्षेत्रबीच व्यापार तथा लगानी प्रवर्द्धन, राष्ट्रिय समन्वय परिषद् (एनसीसी ) हरूको सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार, सीमापार मानव बेचबिखन रोक्ने उपाय र आप्रवासी कामदारको अधिकार सुरक्षाबारे गहन छलफल हुनेछ। साथै गैरआवासीय नेपाली नागरिकताको निरन्तरता (सीएनसी) र पीएनओ अधिकारको संस्थागत कार्यान्वयन, पर्वतीय तथा स्वास्थ्य पर्यटनमार्फत डायस्पोराको सहभागिता, महिला सशक्तीकरण, दोस्रो पुस्ताका नेपालीको नेतृत्व विकास र एनआरएनए को साङ्गठनिक रि-ब्रान्डिङका विषयमा विचारविमर्श गरिनेछ।
सबै प्लेनरी सत्रहरू सम्पन्न भएपश्चात साउन ३१ गते नै ‘ग्वाझाओ घोषणापत्र २०२६’ जारी गर्दै सम्मेलनको औपचारिक समापन गरिनेछ। सम्मेलनको अन्तिम दिन भदौ १ गते (१७ अगस्ट) सहभागी प्रतिनिधिहरूका लागि ग्वाझाओबाट करिब ७० देखि ८० किलोमिटर दूरीमा रहेको छिंगयुआन सहरस्थित प्रख्यात ‘गुलोंग गोर्ज ग्लास ब्रिज’ (Gulongxia) को आधिकारिक अवलोकन भ्रमण (Excursion) तय गरिएको छ। यस ऐतिहासिक सम्मेलनले नेपाल र डायस्पोराबीचको सम्बन्ध अझ कसिलो बनाउँदै देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
