स्कन्द भेलमा स्व. पण्डित बालमुकुन्द पोख्रेलको जीवनी र योगदानमा आधारित पुस्तक “बुबा: केही जीवनी, केही संजीवनी ” लोकार्पण
लन्डन । शिक्षा तथा संस्कृतिविद् स्व. पण्डित बालमुकुन्द पोख्रेलको जीवन र योगदानमाथि आधारित साहित्यकार दुर्गाप्रसाद पोख्रेलको हालसालै प्रकाशित पुस्तक “बुबा: केही जीवनी, केही सञ्जीवनी” एक विशेष समारोहका बीच बेलायतको रमणीय धार्मिक पर्यटकीय स्थल स्कन्द भेल (Skanda Vale) मा लोकार्पण गरिएको छ।
स्व. बालमुकुन्द पोख्रेलको २५औं पुण्यतिथिको अवसरमा प्रकाशित उक्त कृति नेपाली पण्डित संघ युकेका पदाधिकारीहरूको उपस्थितिमा संस्थाका अध्यक्ष पण्डित चिरन्जीवि ढकालले विमोचन गर्नुभएको हो। विमोचनका क्रममा अध्यक्ष ढकालले आचार्य दुर्गाप्रसाद पोख्रेलले आफ्ना बुबाको बारे पुस्तक लेखेर पितृप्रतिको श्रद्धा र सम्मान प्रकट गर्दै समाजलाई प्रेरणा दिने काम गर्नुभएको बताउनुभयो। उहाँले स्व. पण्डित बालमुकुन्द पोख्रेलको जीवन, आदर्श र कर्मबाट आजको समाज र नयाँ पुस्ताले प्रशस्त मार्गदर्शन पाउन सक्ने उल्लेख गर्नुभयो। कार्यक्रममा संस्थाका सल्लाहकार एवं लेखक आचार्य दुर्गाप्रसाद पोख्रेलले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा बेलायतका विभिन्न स्थानमा कार्यरत आचार्य पण्डित गुरुहरूको बाक्लो उपस्थिति थियो। उपस्थिति रहनेहरूमा विश्लेषक पण्डित नारायण गाउँले, पत्रकार विपिन निरौला, पण्डित नीलहरि घिमिरे, पण्डित गोविन्द नेपाल, पण्डित शेखर शाण्डिल्य, पण्डित विनोद पन्थी, पण्डित थानेश्वर पाण्डे, पण्डित अर्जुन पाण्डे, पण्डित वासुदेव सापकोटा, पण्डित गणेश सुवेदी, पण्डित पवन दाहाल, पण्डित कीर्तिविलास पन्त, पण्डित मिलन शर्मा, पण्डित होमनाथ पौडेल, र पण्डित आनन्द लोहनीलगायत हुनुहुन्थ्यो।

पण्डित संघले स्कन्द भेलस्थित मन्दिरमा विशेष पूजा-अर्चना समेत गरेको थियो। वरिष्ठ स्वामीहरू र सन्यासीहरूको सामूहिक समुदाय (Community of the Many Names of God) द्वारा सञ्चालित यस विश्वप्रसिद्ध आश्रमका सन्यासी तथा व्यवस्थापकहरूले नेपाली पण्डित टोलीलाई भव्य स्वागत गरेका थिए। सो अवसरमा पण्डित गुरुहरूको सामूहिक स्वस्ति वाचनले मन्दिर परिसर गुञ्जायमान भएको थियो। सन् १९७३ मा गुरु श्री सुब्रमनियमद्वारा स्थापित यस आश्रममा रहेको मुरगन मन्दिरमा नेपाली पण्डितहरूले विश्व शान्तिको कामना गर्दै अर्चना पश्चात् विशेष परिक्रमा समेत गरेका थिए।
